काठमाडौं – सुडान घोटालामा आरोपी एसएसपी श्यामबहादुर
खड्कालाई विशेष अदालतले जेल चलान गरेको छ । अदालतले ७० लाख धरौटी तोकेपछि उक्त रकम जुटाउन नसकेपछि
खड्कालाई जेल चलान गरिएको हो ।
अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय
ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिनभरको सुनुवाईपछि खड्कासँग ७० लाख
धरौटी मागेको थियो ।
सुडान घोटालामा धरौटी मागिएका खड्का चौथो प्रहरी अधिकृत हुन् । यसअघि डिएसपी
दिनेश केसीलाई ३५ लाख र पूर्व आईजीपी दीपेन्द्रबहादुर विष्टलाई एक करोड रुपैयाँ
धरौटी मागिएको थियो । दुवैले धरौटी बुझाएर जेलबाट छुटेका छन् ।
पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ भने धरौटी बुझाउन नसकेपछि जेलमै छन् ।
विशेष अदालतले उनलाई ५ करोड धरौटी माग गरेको थियो ।
सुडान घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रहरी
प्रमुखसहित ३६ जनाविरुद्ध जेठ तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
गरेको थियो । उनीहरू सबै मिलेर २८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार
गरेको आयोगको अभियोग छ ।
अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो । अभियोग
लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् ।
बेलायती ठेकेदार माइकल रिडर र उनका नेपाली एजेन्ट शम्भु भारतीविरुद्ध पनि अभियोग
लगाइएको छ । माइकल लन्डनस्थित एस्योर्ड रिस्क कम्पनीका निर्देशक हुन् भने शम्भु
उनका नेपालस्थित एजेन्ट ।
सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र
यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।



