काठमाडौ। एकीकृत नेकपा (माओवादी) ले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ अनुहारलाई सरकारमा पठाउने सम्भावना देखिएको छ ।
एमाओवादीका स्रोतका अनुसार सरकारमा पठाउने नयाँ मन्त्रीबारे टुङ्ग्याउन आज बसेको शीर्ष नेताको गोप्य बैठकमा यसबारे छलफल भए पनि सबै व्यक्ति र मन्त्रालयको टुङ्गो भने लागिसकेको छैन ।
उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित कुन मन्त्रालय दिने भन्नेबारे अझै छलफल हुन बाँकी रहेको बताइएको छ ।
सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्न बनाइएको कार्यदलसहितको सो बैठकमा गृह मन्त्रालयमा पार्टी सचिव पोस्टबहादुर बोगटी वा स्थायी समिति सदस्य देव गुरुङमध्ये कसलाई पठाउने भन्नेबारे पनि टुङ्गो लाग्न बाँकी रहेको बुझिएको छ ।
नयाँ मन्त्रीमण्डलमा पठाइनेमा पम्फा भुसाल, ओनसरी घर्ती, हिसिला यमी, लोकेन्द्र विष्ट मगर, जयपुरी घर्ती, लेखराज भट्टको नाम आए पनि त्यसको छिनोफानो भइनसकेको स्रोतले बतायो ।



