काठमाडौ – भदौ १४ गतेपछि माओवादी
नेतृत्वको सरकार निर्माणका लागि प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने सहमति
पहिला नै भएको माओवादीका सचिव सीपी गजुरेलले खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव
गजुरेलले भने, ‘भदौ १४ पछि माओवादीको नेतृत्वमा सरकार बन्ने सहमति भइसकेकाले यो
सरकारको विरोध नगरेको हो । झलनाथजीको पालो पुग्यो, अब हाम्रो नेतृत्वको सरकार बन्छ
।’
उनले खनाल नेतृत्वको सरकारकै बेला भएको सात बुँदे सहमतिमा आलोपालोको सहमति
भईसकेकाले सोही अनुसार भदौ १४ गतेपछि प्रधानमन्त्रीले राजिनामा दिने स्पष्ट पारे ।
आफ्नो पार्टीले संसदीय दलको नेता परिवर्तन गर्ने दावी गर्दै जो संसदीय दलको नेता
बन्छ उही नै अबको प्रधानमन्त्री बन्ने स्पष्ट पारे । गजुरेलले अध्यक्ष बाहेकका ६
जना पदाधिकारीबाटै संसदीय दलको नेता बन्ने उल्लेख गरेका छन् । उनले उपाध्यक्ष
बाबुराम भट्टराईको सम्भावना प्रवल रहेको समेत खुलासा गरे ।
सचिव गजुरेलले जारी केन्द्रीय कमिटिको मुख्य एजेण्डा नै कार्यविभाजन भएको उल्लेख
गर्दै बैठकले सरकार र संसदको जिम्मेवारी पहिला टुङग्याएपछि मात्रै बाँकी नेताहरुका
लागि संगठन, अन्तर्राष्ट्रिय र जनमुक्ती सेनाको जिम्मेवारी दिइने बताए ।
यस्तै उर्जामन्त्री गोकर्ण विष्टले सहमतिको सरकार बन्ने स्पष्ट आधार बिना
प्रधानमन्त्री झलनाथ खनालले बहुमतको सरकार निर्माणका लागि राजिनामा नदिने दावी गरे
। उनले सहमतिको आधार बने राजिनामा दिन भदौ १४ सम्मपनि प्रधानमन्त्रीले नपर्खने
स्पष्ट पारे ।



