माओवादी पुष्पकमल दाहाललाई असफल र अयोग्य व्यक्तिको चित्रण

सन्तोष पोखरेल

पोखरा –  एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई असफल र अयोग्य व्यक्तिको रुपमा एमाले सचिव शंकर पोख्रेलले चित्रण गरेका छन्। असफल र अयोग्य व्यक्तिलाई जनताले नायक र महानायकको रुपमा स्थापित गर्न खोज्दा मुलुकको दुर्गति भएको उनले टप्पणी गरे।

‘असफल र अयोग्य व्यक्तिलाई जनताले नायक र महानायकका रुपमा स्थापित गर्न खोजेकोले मुलुकको दुर्गति भएको हो’ अनेरास्ववियु गण्डकी अञ्चल व्यूरोद्वारा बुधबार पोखरामा आयोजित क्षेत्रस्तरीयको कार्यकर्ता भेलामा उनले भने, ‘माओवादी अध्यक्षमा वास्तविक नायक बन्नसक्ने सामर्थ्य छैन।’

दाहाल उपयोगीतावादको भद्धा नमूना भएको उनको आरोप छ। दाहालको असक्षमताबाट अहिले आम नागरिक निरास बनेको उनले उल्लेख गरे। ‘कम सामर्थ्य भएको व्यक्तिबाट धैरै अपेक्षा गरिँदा जनता निरासाको सिकार बनिरहेका छन्’ पोख्रेलले भने। उनले माओवादीभित्रको आन्तरिक किचलोले मुलुकमा समस्या थपिदिएको बताए।

माओवादी अध्यक्ष दाहालको स्वेच्छाचारीविरुद्व आफ्नै पार्टीभित्र बढेको ध्रुवीकरणले मुलुकलाई निकास दिन नसक्ने उनले बताए। ‘जनयुद्वका पक्षधर मोहन वैद्य समूह र शान्ति, संविधान पक्षधर बाबुराम भट्टराईबीचको मेलले मुलुकलाई कुन दिशामा लैजाने हो त्यसको अनुमान गर्न निकै कठिन भएको उनको भनाई थियो।