काठमाडौं – सुडान घोटालाका आरोपी निलम्बित एआईजी मदनबहादुर खड्कासँग
विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । उक्त रकम बुझाउन नसकेपछि उनलाई साँझ
नै डिल्लीबजार कारागार चलान गरिएको छ ।
बिहीबार दिउँसो बबरमहलस्थित विशेष अदालतमा खड्का बयान दिन आएका थिए ।
सुडान घोटालामा खड्कासहित तीन पूर्व प्रहरी महानिरीक्षकसमेत गरी ३६ जनाविरुद्ध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा
दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।विशेष अदालतमा बयानका लागि उपस्थित हुने उनी
सातौं प्रहरी अधिकारी हुन् ।
यसअघि पूर्व प्रहरी महानिरीक्षकहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्व
एआईजी दीपेन्द्रबहादुर विष्ट, निलम्बित एसएसपी श्यामबहादुर खड्का र डएसपी दिनेश
केसीले अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । गुरुङले ५, ठकुरीले ७, विष्टले
एक करोड, खड्काले ७० लाख र केसीले ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
घोटालाका आरोपी निलम्बित डिएसपी प्रकाश अधिकारी भने बुधबार अदालतले तोकेको १५
लाख धरौटी बुझाउन नसकेपछि थुनामा छन् ।
सुडान घोटाला प्रकरणमा अख्तियारले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध जेठ
तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरू सबै मिलेर
२८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार गरेको आयोगको अभियोग छ ।
अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो । अभियोग
लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् ।
बेलायती ठेकेदार माइकल रिडर र उनका नेपाली एजेन्ट शम्भु भारतीविरुद्ध पनि अभियोग
लगाइएको छ । माइकल लन्डनस्थित एस्योर्ड रिस्क कम्पनीका निर्देशक हुन् भने शम्भु
उनका नेपालस्थित एजेन्ट ।
सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र
यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।



