काठमाडौं – पत्रकारलाई लगातार सिंहदरबार प्रवेश गर्न नदिएकोबारे सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री झलनाथ खनालसँग आपत्ति जनाएका छन्। संसद् सचिवालयले वितरण गरेको पास बोकेका पत्रकारलाई प्रवेशमा रोक लगाउने अधिकार सरकारसँग नभएकाले त्यसो नगर्न उनले प्रधान मन्त्री खनालसँग आग्रह गरे।
‘सिंहदरबारमा सरकार मात्र छैन, त्यहाँ संसद् पनि छ भन्ने सरकारले बुझ्नुपर्छ’, प्रधानमन्त्री खनालसँगको भेटमा सभामुख नेम्वाङले भने। उनले लगातार ३ दिनदेखि सिंहदरबार प्रवेशमा सरकारले रोक लगाउनुको कारणबारे पनि सभामुखले प्रधान मन्त्रीसँग सोधेका थिए।
गृह प्रशासनले तीन दिनदेखि सिंहदरबार प्रवेशमा रोक लगाएपछि संसद्का समितिको समाचार सङ्कलनमा बाधा परिरहेको छ। बुधबार पनि सभामुख नेम्वाङले मुख्य सचिव माधवप्रसाद घिमिरेसँग टेलिफोनमा कुरा गरेपछि मात्र अपराह्न पौने २ बजे मात्र प्रवेश दिइएको थियो। पत्रकारहरूले सिंहदरबार गेटमा नै धर्नासमेत गरेका थिए।
बिहीबार भने सभामुख नेम्वाङले मुख्य सचिव घिमिरेसँग २ पटक टेलिफोनमा पत्रकारलाई नरोक्न आग्रह गरे पनि प्रवेश दिइएन। त्यसपछि प्रधान मन्त्रीसँग भेट्न उनको कार्यालय पुगेका नेम्वाङले मुख्य सचिव घिमिरेसमेतको उपस्थितिमा प्रधान मन्त्रीसँग संसद्को अधिकार क्षेत्रको ख्याल राख्न आग्रह गरेका थिए।
सरकारले गरेको ४२ प्रतिशतको तलव वृद्धि अपुग भएको भन्दै सिंहदरबारभित्र आन्दोलन गरिरहेका कर्मचारीको समाचार संकलन गर्न नदिन भनी गृह मन्त्रालयबाट पत्रकार प्रवेशमा रोक लगाइएको सिंहदरबार सुरक्षामा खटिएका एक अधिकारीले जानकारी दिए। उनका अनुसार, गृह मन्त्रालयका शान्ति सुरक्षा शाखा प्रमुख सहसचिव सुधीर शाहको आदेशमा पत्रकार प्रवेशमा रोक लगाइएको हो। शाह लोकेन्द्रबहादुर चन्द प्रधान मन्त्री भएका बेला उनका निजी सचिव थिए। माघ १९ को शाही कदमका बेलामा समेत सिंहदरबारमा पत्रकार प्रवेशमा रोक लगाइएको थिएन।



