सुडान प्रकरणमा पूर्व गृहमन्त्रीहरुको कुनै संलग्नता नरहेको एमाले बामदेव गौतमको दाबी

– दिलीप पौडेल

बाग्लुङ  – सुडान प्रकरणमा पूर्व गृहमन्त्रीहरुको कुनै संलग्नता नरहेकोपूर्व गृह मन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतमले दाबी गरेका छन्। यो घोटालामा संलग्न उच्च प्रहरी अधिकृतहरुलाई विशेष अदालतले धमाधम कारबाही प्रक्रिया अगाडि बढाइरहेको बेला एमाले नेता गौतमले यस्तो बताएका हुन्।

नेकपा एमाले बाग्लुङले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३३ औँ स्मृति दिवसमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका गौतमले सञ्चारकर्मीको जिज्ञासामा स्पष्टीकरण दिए- सुडानमा प्रहरीलाई बन्दोबस्तीका सामान खरिद गर्ने जिम्मेवारी सबै उच्च प्रहरी अधिकृतलाई थियो, त्यसमा पूर्व गृह मन्त्रीको कुनै संलग्नता छैन।

सुडान मिसनमा खटिएका प्रहरीलाई बन्दोबस्तीका सामानको भुक्तानी आफ्नो गृह मन्त्रीत्वकालमा समेत भएको भए पनि सोबारे आफूलाई पछि जानकारी भएको उनले बताए। खरिद गर्ने जिम्मा प्रहरीलाई दिएको र उसले प्रहरी लोककल्याणकारी कोषबाट रकम खर्चिएको बताए। ‘नीतिगतरुपमा गृह मन्त्रीले कहीँ कतै हस्ताक्षर गरेको छैन,’ गौतमले भने- प्रहरी नेतृत्वले नै कल्याणकारी कोषबाट बन्दोaस्तीको सामान खरिद गरेको हो।

पुष्पलालको स्मृति दिवसका अवसरमा नेकपा एमाले बाग्लुङले प्रकाशन गरेको ‘आह्वान’ मुखपत्र विमोचन गर्दै गौतमले मुलक दुईथरि अतिवादको चपेटामा परेकोसमेत बताए। राजतन्त्र अन्त्य भए पनि उग्रवामपन्थी र दक्षिणपन्थी अतिवाद हावी हुन खोजेको बताउँदै अहिलेको आवश्यकता शान्ति र संविधान भएको गौतमको भनाई थियो। वर्तमान सन्दर्भमा समेत पुष्पलालको विचार सानदर्भिक रहेको उनको भनाई थियो।