प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा नदिए प्रमुख प्रतिपक्षी कांग्रेसले बजेट सम्वन्धी छलफल अघि बढन नदिने

काठमाडौ  – प्रधानमन्त्री झलनाथ खनालले
तत्काल राजीनामा नदिए प्रमुख प्रतिपक्षी कांग्रेसले व्यवस्थापिका संसदमा बजेट सम्वन्धी छलफल अघि बढन नदिने भएको छ
। सरकारले पेश गरेको बजेटको आईतबारदेखि संसदमा छलफल सुरु हुदैछ ।

पाँच बूँदे सहमति अनुसार प्रधानमन्त्री खनालले शान्तिप्रकृया र संविधान निर्माण
अघि बढाउन नसकेको र बजेट संसदमा पेश गर्नुअघिनै बाहिर सार्वजनिक गरी आर्थिक अपराध
गरेको भन्दै कांग्रेसले राजीनामाको मुद्दालाई सशक्त रुपमा उठाउन लागेको हो ।

कांग्रेस सभापति सुशील कोइरालाको निवासमा शनिबार अपरान्ह बसेको पार्टीको
पदाधिकारी र केही बरिष्ट केन्द्रीय सदस्यको अनौपचारिक बैठकले सरकारको आयु लम्बाउन
नहुने निष्कर्ष निकाल्दै राजीनामा दिन बाध्य बनाउने बाटो लिने तय भएको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजीनामाका लागि अल्टिमेटम दिएर कांग्रेस
अघि बढने बताए । उनका अनुसार केही दिन संसदमा सशक्त आवाज उठाउने र दश गतेको
केन्द्रीय कार्यसमितिको बैठकले कार्यक्रम सार्वजनिक गर्ने तय भएको बताए ।

अर्का केन्द्रीय सदस्य नरहरी आचार्यले सरकारले बजेट पहिल्यै बाहिर सार्वजनिक
गरेर दुई अरबभन्दा बढीको घोटला गरेको बताउँदै त्यस्तो आर्थिक अपराध गर्ने सरकार एक
मिनेटपनि सरकारमा बस्न नहुने बताए । ‘पाँच बूँदे सहमति अनुसारपनि डेढ महिनाको
अवधिमा प्रधानमन्त्रीले शान्ति र संविधान निर्माणको काम एक पाईला पनि अघि बढाउन
सकेनन, अर्कोतर्फ बजेट ‘लिक’ गरेर गंभिर आर्थिक अपराध समेत गर्न पुग्यो’ आचार्यले
भने-‘अब यस्तो सरकारलाई एक मिनेटपनि राख्न हुन्न भन्ने कांग्रेसको ठहर छ ।’ उनले
केन्द्रीय समितिको बैठकबाट आन्तरिक कार्यतालिका बनाएर सरकारलाई राजीनामा दिन बाध्य
पारिने बताए ।

बैठकमा पार्टीको विभाग, संसदीय समिति र अनुशासन समिति निर्माण हुन नसक्दा
पार्टीको संगठन समेत कमजोर हुन पुगेको धारणा सदस्यहरुले राखेका थिए । उनीहरुले
सरकारको नेतृत्व लिनका लागि बाहिर आएको विवाद गोप्य रुपमा मिलाउन नेता शेरवहादुर
देउवा समेत उपस्थित रहेको अनौपचारिक बैठकमा नेतृत्वसंग आग्रह गरेका थिए । ‘तपाईहरु
-सुशिल कोइराला, शेरवहादुर देउवा र रामचन्द्र पौडेल ) मिलेर आन्तरिक रुपमा मिलाउन
सक्नुभएन भने हामी केन्द्रीय समितिबाट टुंगो लगाईदिन्छौ’ भन्दै सदस्यहरुले
नेताहरुलाई सहमतीमा अघि बढ्न दबाव दिएका थिए ।

तीन नेताको गोप्य छलफल

संसदीय दलको नेतालाई लिएर उत्पन्न विवाद समाधान गर्न शनिबार सभापति सुशिल
कोइराला, नेता शेरवहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल बीच छलफल भएको छ
। अनौपचारिक बैठक सकेपछि सभापति कोइरालाको आग्रह अनुसार तीन नेता छुट्टै बसेर छलफल
गरेका हुन । संसदीय दलको नेता हटाउन देउवा समूहले हस्ताक्षर अभियान थालेपछि अधिकांश
केन्द्रीय सदस्यले पार्टी विभाजन भएको सन्देश जान नदिन तीन नेता गोप्य बसेर सहमति
गर्न दबाव दिएका थिए । त्यसको प्रयासस्वरुप शनिबार छलफल सूरु भएपनि सहमति भने हुन
सकेन । तीन नेताको छलफल जम्मा दश मिनेट जति मात्रै भएको थियो । स्रोतका अनुसार
छलफलमा देउवाले पार्टीले आफ्नो लागि विकल्प दिन तयार भएमा सरकारको नेतृत्व पाउने
संभावना रहेको बताएका थिए । जबाफमा पौडेलले भने तीन/तीन पटक प्रधानमन्त्री
भईसकेकाले आफूलाईनै सहयोग गर्न देउवा संग आग्रह गरेका थिए ।

 कोइरालाले भने सहमतीबाट
अघि बढनुको विकल्प नरहेको बताएका थिए । तर, कसरी मिलाउने भन्नबारेमा भने उनले केही
बताएनन् । संस्थापन पक्षले भने सरकारको नेतृत्व पाउने अवस्था आएमा देउवालाई सहयोग
गर्न सकिने बताएका छन । त्यसका लागि केन्द्रीय समितिको बैठकमानै औपचारिक प्रस्ताव
ल्याएर निर्णय गराउने गरी सहमती जुटाउन संस्थापन पक्षका नेताहरु लागेका छन । तर,
देउवा भने संसदीय दलको नेता बन्ने कसरतमा रहेको स्रोतले बतायो ।