– चित्रांग थापा
महेन्द्र्नगर – भारतको देहरादुन नजिक बसमा हाइटेन्सन
प्रसारण लाइनबाट करेण्ट लागेर मृत्यु भएका ५ नेपालीको शव भारतीय प्रहरीले सोमबार
बिहान कञ्चनपुरको गड्डाचौकी पुर्याएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीको
रोहवरमा शव उनीहरुका आफन्तलाइ बुझाउने काम भइरहेको छ ।
कामको खोजीमा भारत हिमाञ्चल प्रदेशको शिमला आसपासको क्षेत्रमा जान लागेका
नेपाली कामदार युवाहरु चढेको बसमा करेण्ट प्रवाह भइ आइतबार दिउँसो ५ जनाको घटनास्थल मै मृत्यु
भएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सइ नेत्र प्रसाद भटृका
अनुसार उक्त घटनामा मृत्यु हुने हरुमा कैलाली फुलवारी गाविस -३ का २३ बर्षीय सुखराम
चौधरी , कैलाली कै हसुलिया गाविस -१ ‘के’ गाउँका ३० बवर्षीय बमबहादुर चौधरी,
सल्यानको कालिमाटी काल्चे – ३ का २३ वर्षीय धनबहादुर खत्री, कैलाली मसुरिया गाविस
-७ शंकरपुरका १७ वर्षीय मनोज चौधरी र जाजरकोट को पुन्म गाविस -२ का २२ वर्षीय
शेरबहादुर अधिकारी रहेका छन् ।
कैलालीका मात्रै ४४ जनाको टोली सहित अधिकांस नेपालीहरु यात्रा गरिरहेको उक्त
बसमा चालकले नेपालीहरुलाई बस भित्र ठाउँ छैन भन्दै जबर्जस्ती ढंगले धक्का दिएर बसको
छतमा पठाउन लागेको अवस्थामा उक्त दुर्घटना भएको हो । ‘१ जना बस पछाडीबाट छतमा जाँदै
गरेको बेला करेण्ट लाग्यो, उस्लाइ जोगाउन जाने अरुलाई पनि करेण्ट लागेर घटनास्थल
मै मृत्यु भयो’ शवसंगै फर्केका मसुरियाका नारायण चौधरीले भने,’ ‘ड्राइभरले धकेलेर
छतमा पठाएको हो, ५ जनाको घटनास्थल नजिकैको विकाशनगर सामुदायिक अस्पतालमा उपचार
भएरहेको छ ।’ उक्त घटना पछि टोलीसंगै रहेका मध्ये २४ जना गाउँ बस्तीका आफन्तहरुको
शव लिएर घर फर्केका छन् । ‘यस्तो दुर्दशा भयो अब उता जाने कुरै भएन घर फर्केको’
नारायणले भने ।
घटनामा मृत्यु भएका नेपाली कामदारहरुको शव बसमा राखेर देहरादुनको विकासनगर
कोतवालीको प्रहरी टोलीले गड्डाचौकी नजिक सिमा क्षेत्रमा पुरयाएको हो । ‘शव आफन्तलाई
जिम्मा लगाउने काम भइरहेको छ । बिहानसम्म कैलालीका शुखराम चौधरी र बमबहादुर
चौधरीको शव उनीहरुका आफन्तले बुझेर लगेका छन्’ सइ भट्टले बताए ।’
शनिबार साँझ कञ्चनपुरको सिमावर्ति भारतीय बजार बनवासाबाट हिँडेको उक्त टोली
हरिद्वार, देहरादुन हुँदै शिमलाको ट्युनी भन्ने ठाउँ नजिक गइरहेका बेला दुर्घटना
भएको हो । ‘बस बिस्तारै गइरहेको थियो डाइभरले माथि जान भनेपछि १ जना छत तर्फ जान
थाल्यो हाइटेन्सन लाइन उस्को घाँटीमा लाग्यो, उस्लाई जोगाउन गएकालाई पनि करेन्ट
लागेर मृत्यु भएको हो’ गदरिया गाविस कैलाली शुशिल चौधरीले बताए ।
बस चालक फरार रहेको विकासनगर कोतवालीका पुलिस जवान सुधिर कुमारले बताए । ‘घटना
बारे कसैको उजुरी परेको छैन । तर, पनि आवश्यक अनुसन्धान र कारबाही सुरु भएको’, उनले
बताए ।



