काठमाडौ – सोमबार दिउँसो
उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष
पुष्पकमल दाहाललाई भेटी उनैमार्फत राजीनामा बुझाएका हुन् ।
महराका प्रेस संयोजक मनोज मगरले राजीनामापत्र सोमबार दिउँसो नै प्रधानमन्त्री
झलनाथ खनाल समक्ष पुगिसकेको जनाए । माओवादीले गरेको मन्त्रीहरुको हेरफेरप्रति
प्रधानमन्त्री असन्तुष्ट रहेकै बेला माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका
मन्त्री महराले राजीनामा दिएका हुन् ।
माओवादीको केन्द्रीय समितिले आइतवार सरकारको पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
त्यसअनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीसहित सरकारको
नेतृत्वको जिम्मा दिइएको छ । नयाँ टिमलाई सरकारमा सहभागी हुन मार्गप्रशस्त गर्नका
लागि महराले राजीनामा दिएको बताइएको छ ।
माओवादीको समर्थनमा गएको माघ २० गते एमाले अध्यक्ष खनाल प्रधानमन्त्रीमा
निर्वाचित भएका थिए । प्रधानमन्त्री निर्वाचित भएको १ महिनापछि फागुन २१ गते
माओवादी स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख महरा माओवादीको तर्फबाट सरकारको
नेतृत्व गरेर उपप्रधान तथा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
माओवादी सरकारमा सहभागी भएको दुई महिनापछि वैशाख २१ गते माओवादीले सरकारलाई
पूर्णता दिंदै महरालाई गृहमन्त्रीको जिम्मेवारी दिएको थियो ।



