काठमाडौ – मन्त्रिपरिषद् पुनर्गठनको माओवादीको
प्रस्ताव नेकपा एमालेले अस्विकार गरेको छ । एमालेको उक्त निर्णयले माओवादीले प्रस्ताव गरेको नयाँ
मन्त्रीहरुको सपथ अनिश्चित बनेको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकले पाँच बुँदे सहमतिको भावना अनुसार राजनीतिक
सहमति गरेर अघि बढ्ने सहमति गरेको छ । केहीबेर मात्र बसेको बैठकले औपचारिक निर्णय
नगरेपनि मन्त्रिपरिषद् पुनर्गठन तत्काल उपयुक्त नहुने निष्कर्ष निकालेको थियो ।
वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिपरिषद् पुनर्गठनको कुराले पाँच बुँदे सहमति
बिथोलिन सक्ने भएकाले त्यसतर्फ थप छलफलको आवश्यकता रहेको बताए । उनले सबै कुरा
राजनीतिक दलहरुबीच सहमति गरेर प्याकेजमै सम्बोधन गरिनुपर्ने बैठकको जोड रहेको
संचारकर्मीलाई बताए ।
माओवादीले पार्टी भित्रको विवाद मिलाउन केही पूरानालाई यथावत राख्दै १२ जना
मन्त्री र १२ जना राज्य मन्त्रीको नयाँ नाम प्रधानमन्त्रीलाई दिएको छ ।
संविधानसभाको म्याद थप्ने बेला गत जेठ १४ गते प्रधानमन्त्री झलनाथ खनालले राजीनामा
दिने सहमति जनाइसकेकाले राजीनामा दिने की मन्त्रिपरिषद् पुनर्गठन गर्ने अन्यौल
बढेको छ । प्रधानमन्त्री खनालले पनि मन्त्रिपरिषद् पुनर्गठनको माओवादी प्रस्ताव
प्रति आपत्ति जनाइसेका छन् ।
माओवादीको प्रस्ताव माथि छलफल गर्न एमाले मुख्यालयमा स्थायी समिति बैठक बोलाइएको
थियो । कांग्रेसले प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा पुनर्गठनको कुरा आएकोले
त्यसको बिरोध सुरु गरेको छ । मन्त्रिपरिषद् पुनर्गठनको प्रस्तावलाई लिएर कांग्रेसले
सोमबार संसद बैठक नै अवरुद्ध गरेको थियो ।



