सेनाका तीन सहायक रथीलाई उपरथीमा बढुवा र पदस्थापन तथा अन्य ६ उपरथीको जिम्मेवारी फेरबदल

काठमाडौं  – सेनाका तीन सहायक रथीलाई उपरथीमा बढुवा र
पदस्थापन तथा अन्य ६ उपरथीको जिम्मेवारी सरकारले फेरबदल गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सहायकरथीहरू रमेश बिष्ट, भिक्टरशमशेर जबरा
र महेशविक्रम कार्कीलाई उपरथीमा बढुवा गरेको हो । सैनिक मुख्यालय जंगीअड्डाको
सिफारिसअनुरूप रक्षामन्त्री विष्णु पौडेलले सैनिक अधिकृतको बढुवा र जिम्मेवारी
हेरफेरको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । मन्त्रिपरिषद्ले सैनिक अस्पतालकी
प्राविधिक महासेनानी डा. सुन्दरी जोशीलाई सहायक रथीमा बढुवा गरी सोही ठाउँमा
पदस्थापन गरेको छ ।

बढुवा भएका तीनै जनालाई सेनाको परम्पराअनुसार क्षेत्रको जिम्मेवारी दिइएको छ ।
बिष्टलाई सुदूरपश्चिम, जबरालाई पश्चिमाञ्चल र कार्कीलाई पूर्वाञ्चल पृतनाको
प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि बिष्ट नगरकोटस्थित सैनिक शिक्षालय, जबरा
मध्यपश्चिम पृतना र कार्की युद्धकार्य निर्देशनालय तथा विशेष समिति मातहतको
सचिवालयमा कार्यरत थिए ।

मन्त्रिपरिषद्ले अन्य ६ उपरथीको जिम्मेवारीसमेत फेरबदल गरेको छ । पश्चिमाञ्चल
पृतनापति नरबहादुर कँडेललाई कार्यरथी विभाग र पूर्वाञ्चल पृतनापति नरेन्द्र रावललाई
प्रबन्धरथी विभागमा लगिएको छ । प्रबन्धरथी विभागका डम्बर गुरुङलाई भने
निरिक्षणाधिकृत विभागमा सरुवा गरिएको छ ।

उपरथीद्वय गौरवशरशेर राणा र नेपालभूषण चन्द रथीमा बढुवा भएपछि उनीहरुले
सम्हाल्दै आएको निरीक्षणाधिकृत र कार्यरथी विभाग नेतृत्वविहीन थियो । त्यसैगरी
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सह-संयोजक नेत्रबहादुर थापालाई सम्भाररथी
विभागमा सरुवा गरी सचिवालयमा सुदूरपश्चिम पृतनापति कुमार बुढाथोकीलाई लगिएको छ ।
सम्भाररथी विभागका रामबहादुर गुरुङलाई सैनिक विनय (तालिम) महानिर्देशनालयमा सरुवा
गरिएको छ ।

सहसचिवहरु सुरेशमान श्रेष्ठ, तुलसी सिटौला, माधव रेग्मी, बिश्वप्रकाश पण्डित र
लालमणि जोशीलाई सचिवमा बढुवा गरिएको छ ।

स्थानीय विकास मन्त्रालय अन्तरगतको फोहोर मैला ब्यवस्थापन केन्द्रको
महाप्रबन्धकमा महाप्रबन्धक डा. सुमित्रा अमात्यलाई नियुक्त गरिएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले जापानका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव
मदनकुमार भट्टराईलाई सिफारिस गरेको छ ।