काठमाडौ – सभापतिको अधिकारलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा विवाद भएको छ । पार्टीको संशोधित विधानअनुसार नियमावली मस्यौदा गर्न गठित समिति नै सभापतिको
अधिकारबारे विभाजित बनेपछि विवाद उत्पन्न भएको हो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले
बैठकमा नियमावलीको मस्यौदा पेस गरेको छ । मस्यौदा समितिका दुई सदस्य आनन्द ढुंगाना
र नवीन्द्रराज जोशीले नै बिहीबारको बैठकमा मस्यौदामा विधानले दिएको सभापतिको अधिकार
कटौती गर्ने प्रस्ताव गरिएको भन्दै त्यसमा लिखित फरक प्रस्ताव दर्ता गरेपछि मतभेद
भएको हो ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सदस्यहरूले फरक मतको विरोध गर्दै समितिको
प्रस्तावको पक्षमा उभिएका थिए भने सभापति सुशील कोइराला पक्षधर सदस्यहरू फरक मतको
पक्षमा । कोइराला पक्षकै उक्साहटमा ढुंगाना र जोशीले फरक मत ल्याएको दाबी देउवा
समूहको छ ।
बैठकमा बोल्ने केही सदस्यले मस्यौदा समितिका सदस्यहरूले नै फरक प्रस्ताव पेस
गर्नु अलोकतान्त्रिक र अमर्यादित हो भन्दै आपत्ति जनाएका थिए । ‘आफैं समितिमा
बस्ने, आफैं फरक प्रस्ताव ल्याउने गर्नु अनर्थ र अस्वाभाविक हो, समितिमा बसेर यस्तो
अमर्यादित र अलोकतान्त्रिक कार्य गर्ने हो भने अब गठन हुने कुनै पनि समितिले काम
गर्न सक्तैनन्,’ सदस्यहरूको भनाइ थियो ।



