
काठमाडौ – पाँच बुँदे सहमति
अनुसार राजीनामा गर्न प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेस
नेताहरु शनिबार बालुवाटार पुगरे प्रधानमन्त्रीलाई उक्त आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको
छ । राजीनामा नआएसम्म संसद अवरुद्ध जारी रहने कांग्रेसले प्रधानमन्त्रीलाई स्पष्ट
पारेको छ । कांग्रेस सभापति सुशील कोइराला,वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति
रामचन्द्र पौडेल प्रधानमन्त्री निवास पुगेका थिए । बिहान ८ बजेदेखि ९ बजेसम्म
बालुवाटारमा रहेका कांग्रेस नेताहरुले पाँच बुँदे सहमति कार्यान्वयनमा जोड दिएका
थिए । शान्ति,संविधान र राष्ट्रिय सहमतिका विषयमा दुई पक्षबीच कुराकानी भएको
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
माओवादीले मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव ल्याएको बेला कांग्रेसले
प्रधानमन्त्रीलाई त्यो पाँच बुँदे सहमति विपरीत हुने भन्दै राजीनामा दिएर राष्ट्रिय
सरकारको मार्ग प्रशस्त गर्न दवाब दिएको छ । कांग्रेस नेता पौडेलले सहमतिका सबै
बुँदा कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।
प्रधानमन्त्री खनालले राजीनामाको विषयलाई लिएर संसद अवरुद्ध नगर्न कांग्रेस
नेताहरुलाई आग्रह गरेका थिए । ‘राजीनमाको विषयलाई लिएर संसद अवरुद्ध नगर्नुहोस,म
राजीनामा दिन तयार नै छु,’प्रधानमन्त्रीले भने-‘सहमतिको वातावरण बनाऔं मैले
राजीनामा दिने भनेकै छु ।’
मन्त्रिपरिषद् पुनर्गठन नगरे गठबन्धनबाट हट्ने माओवादीको चेतावनी र पुनर्गठन
नगर्न कांग्रेस तथा आफ्नै दल एमालेले दिइरहेको दवाबकाबीच प्रधानमन्त्री घेरिएका छन्
। माओवादीले १२ मन्त्री र १२ राज्य मन्त्रीको नाम प्रधानमन्त्रीलाई दिएको ६ दिन
भइसक्दा पनि उनीहरुको सपथको टुङ्गो लाग्न सकेको छैन ।
कांग्रेस र प्रधानमन्त्रीबीच भएको भेटमा विश्वविद्यालय,संवैधानिक निकायका
नियुक्ति लगायतका विषयमा पनि छफल भएको थियो ।



