भोजपुर – पूर्वी पहाडी जिल्लाहरुमा खराव मौसमका कारण पाँच दिनदेखि
हवाइ उडान प्रभावित भएको छ । पूर्वी पहाडी भेगमा एक सातादेखि निरन्तर पानी परिरहेको
छ ।
निरन्तर बर्षा, हुस्सु र कुहिरोले बिमानस्थल क्षेत्र ढाकिएकोले हवाइजहाज अवतरण
गर्न कठिनाई हुने भएकोले सेवा प्रभावित भएको हो । नेपाल वायु सेवा निगमले एक छत्र
उडान भर्दै आएको भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ जिल्लामा उडान
प्रभावित भएको नागरिक उडड्यन प्राधिकरणका विमानस्थल नियन्त्रकहरुले बताएका छन् ।
नियमित बषर्ाले विमानस्थलहरु हिलाम्मे छन् ।
भोजपुरको टक्सार विमानस्थल, खोटाङको लामिडाँडा, खानस्डाँडा, थामखर्क,
सोलुखुम्बुको कागेल, फाप्लु, लुक्ला, स्याङ्बोचे, ताप्लेजुङको सुकेटार र
संखुवासभाको तुम्लिङटार विमानस्थलमा पाँच दिनदेखि उडान भएको छैन । हवाइ उडान नहुँदा
उपचारका लागि काठमाण्डौ र विराटनगर जान लागेका विरामी तथा यात्रुहरु भोजपुर
विमानस्थलमा अलपत्र परेका छन् । उडान नहुदा विराटनगर र काठमाण्डौ जाने बिरामी र
यात्रुलाई कठिनाई भएको नेपाल वायु सेवा निगमका स्टेसन मेनेजर लक्ष्मण सिटौलाले बताए
।
अधिकांस पहाडी भेगमा नेपाल वायु सेवा निगमले एक छत्र उडान भर्दै आएको छ ।
भोजपुरमा साँघुरो मैदान हुनाले निजी कम्पनीहरुले उडान भर्न सकेका छैनन् । निगमले
सनिबार, मंगलबार र बिहीबार काठमाण्डौ र आइतबार, मंगलबार र बिहीबार विराटनगर उडान
भर्दै आएको छ । अत्याधिक पानी परेपछि रनवे सुक्न कम्तिमा दुई घण्टा घाम लाग्नुपर्ने
भोजपुर विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।
समयमा उडान नभएपछि जिल्ला अस्पतालबाट प्रसुति गराउन काठमाण्डौ र बिराटनगर
सिफारिस गरेपनि उडान नभएपछि भोजपुरमै कष्टपूर्ण रुपमा प्रसुति गराएका छन् ।
बिराटनगरका लागि तीन जना र काठमाण्डौका लागि दुई जना विरामी विमानस्थलमै उडान
पर्खेर बसेको जिल्ला अस्पतालका डा.सोभित थापाले बताए । बिराटनगर र काठमाण्डौ
सिफारिस गरिएका थप पाँच जना विरामी जिल्ला अस्पतालमा पालो पर्खेर बसेको डा.थापाले
बताए । उनका अनुसार यतिबेला भोजपुर अस्पतालमा विरामीको चाप पनि बढेको छ ।



