बागलुङ – प्रधानमन्त्री झलनाथ खनालले आफ्नो कार्यकालमा शान्ति र
संविधानको गति अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् ।
बागलुङको गलकोट बहुमुखी क्याम्पसको सातौं वार्षिकोत्सव तथा भवन उद्घाटन र रेडियो
गलकोटको उद्घाटन कार्यक्रममा आउन नसकेपछि काठमाडौंबाट टेलिफोनमा मन्तव्य दिंदै उनले
बाँकी रहेको एक महिनामा उल्लेख्य काम गरेर देखाउने बताए ।
आफ्नो २७ मिनेट लामो टेलिफोन मन्तव्यमा प्रधानमन्त्री खनालले सयौंले रगत बगाएको
जनआन्दोलनका उपलब्धीलाई राजनीतिक असक्षमताको कारण संस्थागत हुन नसकेको भन्दै आफ्नो
नेतृत्वले मुलुकले सही दिशा पाउन सक्ने दाबी समेत गरेका छन् ।
प्रधानमन्त्री खनाल आउन नसकेपछि अन्तिम तयारीमा रहेका कार्यक्रमहरु भने स्थगित
भएका छन् । क्याम्पसका शुभेच्छुकहरुले आग्रह गरेपछि प्रधानमन्त्रीले फोनमा सम्बोधन
गरेका थिए ।
बागलुङ आउन लागेका प्रधानमन्त्री खनाल त्रिभूवन विमानस्थलबाटै फिर्ता भएपछि
कार्यक्रम प्रभावित भएको थियो । पछि क्याम्पसका पदाधिकारीले फोन गरेर मन्तव्य दिन
लगाएका थिए ।
प्रधानमन्त्रीकै उपस्थितिमा गर्ने निर्णय भएकोले भवन उद्घाटनको कार्यक्रम भने
स्थगित गरिएको प्राचार्य देवेन्द्र खत्रीले बताए । ‘जसरी पनि खनाललाइ ल्याएरै
उद्घाटन गराउँछौं’ खत्रीले भने ।
मौसमको कारणले साँढे तीनघण्टासम्म त्रिभूवन विमानस्थलमा कुरेका प्रधानमन्त्री
जहाजबाट पोखरा आउने क्रममा विमान धावनमार्ग बाट बाहिर निस्कन नसकेको कारण बागलुङ
आउने कार्यक्रम स्थगित भएको थियो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने
। ्
‘जहाज उड्नै लाग्दा कुहिरोले बाटो नदेखिने अवस्था आएपछि कार्यक्रम स्थगित गर्नु
पर्यो’ थापाले भने- ‘शनिवार विहान ९ बजे देखि साँझ ५ बजे सम्म प्रधानमन्त्रीले
बागलुङ र म्याग्दीका लागि कार्यक्रमहरु तय गर्नुभएको थियो ।’
आफ्नो मन्तव्यमा प्रधानमन्त्री खनालले बडेराजा र छोटे राजाहरु भएको प्रतिकुल
समयमा पनि बामपन्थी आन्दोलनलाई अगाडि बढाउन गलकोटेले सहयोग गरेको बताएका थिए ।
सरकारले मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर लगायतका विकास निर्माणलाइ
प्राथमिकता दिएर गाउँमुखी विकास भित्राएको पनि उनले बताए ।
भूमिगत कालमा २०२६ सालमा गलकोट क्याम्पस मावि मात्र रहेको समयमा प्रधानमन्त्री
खनालले गणित र विज्ञान विषयको अध्यापन गराएर बसेका थिए । उक्त समयमा जनमोर्चाका
अध्यक्ष चित्रबहादुर केसी प्रअ थिए ।
‘पूर्व शिक्षक भएको कारण उहाँलाइ डाकेका थियौं’ गलकोट उमाविका प्राचार्य
देवेन्द्र खत्रीले भने- ‘उहाँ नआउने भएपछि कार्यक्रम स्थानीय नेतृत्वको उपस्थितिमा
कार्यक्रम गर्ने भयौं ।’ राजनीतिक घटनाक्रम विषम बनेपछि प्रधानमन्त्री नआएको हल्ला
बागलुङमा फैलिएपनि प्रधानमन्त्रीका सल्लाहकार थापाले भने अस्विकार गर्दै मौसमकै
कारण भएको प्रष्ट पारेका छन् ।
‘उच्च सुरक्षा व्यवस्था मिलाएर कार्यक्रमको अन्तिम तयारी गरेको समयमा प्रम नआउने
जानकारी आयो’ प्रनाउ उमाप्रसाद चर्तुवेदीले भने-‘अर्को उपयुक्त समय मिलाएर आउने
बताइएपछि हामी कार्यक्रम स्थलबाट फर्कियौं ।’



