काठमाडौं – सत्तासाझेदार प्रमुख दल माओवादीले प्रधानमन्त्री नयाँ मन्त्रीलाई शपथ गराउन सकारात्मक भएको
भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएन ।
माओवादीले आइतबारसम्मको अल्टिमेटम दिंदै सिफारिस गरिएका मन्त्रीको शपथ नगराए
समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री झलनाथ
खनालसँग सकारात्मक कुरा भएकाले समर्थन जारी रहने बताए । ‘शपथ ग्रहण गर्ने विषयमा
प्रधानमन्त्रीसँग सकारात्मक कुरा भएकाले पत्रकार सम्मेलन गरेर तपाईंहरुलाई जानकारी
गराइएको हो,’ उनले भने ।
दाहालले नयाँ मन्त्रीको शपथ गराउँदैमा राष्ट्रिय सहमतिको सरकार बनाउने बाटो
अबरुद्ध नहुने दोहोर्याए । ‘नयाँ मन्त्रीको शपथ ग्रहण गराउनु भनेको अर्को सरकार
राष्ट्रिय सरकार नबनाउने भन्ने होइन,’ उनले भने, ‘शपथ भएको २४ घण्टामा पनि नयाँ
राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ ।’
माओवादीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुको सामूहिक राजीनामा हुनु
समर्थन फिर्ता लिनु नभएको उनले उल्लेख गरे । ‘राजीनामा दिनुको अर्थ समर्थन नै
फिर्ता लिनु होइन,’ उनले भने, ‘छिटोभन्दा छिटो शपथको वातावरण बनोस् भनेर
मन्त्रीहरुको राजीनामा गराइएको हो ।’
सिफारिस गरिएका नयाँ मन्त्रीको शपथ नगराएको भन्दै माओवादीले दुई पटक गरी सवै
मन्त्रीको राजीनामा गराएको थियो । पार्टीले पठाएका १२ मन्त्री र सोही संख्याका
राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ नखुवाएपछि माओवादीले राजीनामा बुझाउन बाँकी
चार मन्त्री र चार राज्य मन्त्रीको शनिबार राति राजीनामा गराएको थियो । उसले यसअघि
कृष्णबहादुर महरा नेतृत्वमा ७ मन्त्रीको राजीनामा गराइसकेको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भदौ १४ सम्ममा लडाकुको पुनर्वर्गिकरण र
संविधानको महिलो मस्यौदा जारी गर्न माओवादी प्रतिबद्ध रहेको बताए । उनले शपथपछि
पाँच बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्नेसमेत उल्लेख गरे ।



