जनकपुर लगातार वर्षाका कारण जलमग्न


 

जनकपुर – जनकपुर नगरपालिकाका आधा दर्जन टोल आइतवार विहान भएको लगातारको वर्षाको कारण जलमग्न भएका छन् । अनेकौ घरमा पानी छिरेको छ भन्ने आवागमनसमेत प्रभावित भएको छ ।

शिवपथ,वकील टोल,किसोरी नगर,भानुचौक,शान्ति नगर,आनन्द नगर,राराव क्याम्पस वरिपरि पानी जमेको कारण विहान आवागमन समेत प्रभावित भएको थियो । अपरान्ह १२ वजेपछि वर्षा बन्द भए पनि केही ईलाका अझै पनि डुवानमै छन् । पूर्व नगर प्रमुख एवं तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष बृषेशचन्द्र लालको किसोरी नगर स्थित घर अगाडी अझै पनि पानी जमेको छ । कर्णको घर वरिपरी डेढ फिट पानी जमेको छ । मिल्स एरियाबाट देवी चौक जाने सडकको बीचमा निर्माणाधीन नालाको कारण आवागमन प्रभावित भएको छ । 

अंचल अस्पताल, बारहवीघा तथा तिरहुतिया गाछीमा पनि पानी जमेको छ । हवाई अडाको वरिपरी पनि पानी जम्न सुरु भई सकेको छ । दूरसंचार कार्यालय जान पनि डेढ फीट पानी तैरेर जानु पर्ने अवस्था छ । नगर क्षेत्रका पोखरीहरुको जलस्तर निरन्तर बढ्न थालेको ले नगर क्षेत्रमा पानीको जमाव अझै बढने आशंका गरिएको छ ।

जनकपुर नगर पालिकाका ईन्जिनियर बीरेन्द्र यादवले नाला सफाई गर्न ट्रेक्टर,टि्रपर तथा आधा दर्जन अधिक सफाईकर्मी परिचालन गरेको बताए पनि उनिहरुले बन्द नाला खुलाउन सकेका छैनन् । नालाको आभाव तथा भएका नालाहरु पनि जाम भएकोले पानी निकासीमा समस्या भएको उनले स्वीकार गरे । लक्ष्मण अखाडा पोखरीको पानी ओभर फ्लो भएर किसोरी नगरमा पानी पसेको उनले बताए ।

वर्षेनी नगर क्षेत्रको सडकमा ग्रेभेल पुर्ने गरेकाले नगर क्षेत्र डुवान भएको आरोप स्थानीयवासीको छ । उनिहरुले सडक निर्माण भन्दा पहिले नालाको निर्माण हुनु पर्ने राय व्यक्त गर्छन -‘नाला निर्माण नगरी सडक बचाउँनै सकिन्न । नगर पालिकाको योजना वैज्ञानिक लागेन ।’प्राध्यापक परमेश्वर कापडिले भने । ईन्जिनियर बीरेन्द्र यादव पनि आम नागरिकको यस रायसंग सहमत छन् ‘तर उपभोक्ताले पनि आफ्नो अगाडीको नाला सफा राख्नु पर्यो नि ? ‘ यादव कान्तिपुरसँग भने ।