काठमाडौ – व्यवस्थापिका संसद बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण मंगलबार पनि बस्न सकेन । कांग्रेसले प्रधानमन्त्री झलनाथ खनालको
राजीनामा माग गर्दै संसद अवरुद्ध गराउँदै आएको छ ।
कांग्रेसले लगातार बैठक अवरुद्ध जारी राखेपछि आर्थिक वर्ष ०६७/०६८ को बिनियोजन
विधेयक उपर संसदमा छलफल हुन सकेको छैन । संसद बैठक सुरु हुना साथ कांग्रेस सभासद
शोभकार पराजुलीले प्रधानमन्त्रीले राजीनामा नदिएर माओवादीसंग गरेको सात बुँदे सहमति
अनुसार आलोपालो सरकार बनाउने षडयन्त्रमा लागेको बताए ।
प्रमुख सचेतक लक्ष्मण घिमिरेले पाँच बुँदे सहमति भएको दुई महिना बितिसक्दा पनि
कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले प्रमुख विपक्षीको मागलाई
बेवास्ता गरेको आरोप लगाए । उनले मन्त्रिपरिषद् पुनर्गठन गरेर प्रधानमन्त्रीले
बेमौसमको बाजा बजाएको बताए । कांग्रेस सभासदहरु आफ्नो स्थानमा उभिएपछि सभामुखले
बैठक स्थगित गरेका थिए । अर्को बैठक साउन २२ गते आइतबार बोलाइएको छ ।



