कोहलपुरमा सुरक्षा ब्यबस्था सुदृढ गर्न जनशक्ति र साधन स्रोत बृद्धि गरिने

– जे पाण्डे

नेपालगन्ज  – बाँकेको दोस्रो नगरपालिका कोहलपुरमा सुरक्षा ब्यबस्था
सुदृढ गर्न जनशक्ति र साधन स्रोत बृद्धि गरिने भएको छ ।

मध्यपश्चिको भ्रमणमा आएका प्रहरी महानिरीक्षक रबिन्द्रप्रताप शाहले स्थानीय
बासिन्दाको माग अनुरुप कोहलपुर इलाका प्रहरी कार्यालयको क्षमता वृद्धि गर्ने
वताएका छन् ।

करिब एक करोड रुपैयाको लागतमा निर्मित इलाका प्रहरी कार्यालय भवनको मंगलवार
उदघाटन गर्दै प्रहरी महानिरीक्षक शाहले उक्त इलाकामा प्रहरी नायव उपरीक्षकको
दरवन्दी कायम गरी क्षमता अभिवृद्धि गर्ने आश्वासन दिएका छन् । २०६१ साल पुस १६ गते
माओवादीले बम प्रहार गरी ध्वस्त पारेको उक्त भवन शान्ति तथा पुननिर्माण मन्त्रालय
लगायत स्थानिय बासिन्दाको सहयोगमा निर्माण गरिएको हो ।

‘सुरक्षा ब्यवस्था सुदृढ नहुंदा सम्म विकासले गति लिन सक्दैन’ प्रहरी
महानिरीक्षक शाहले भने-‘त्यसका लागि ध्वस्त संरचनाहरुको पुनर्निमाण गरीनेछ ।’
गतवर्ष एक सय भवन निर्माण स्विकृत भएको र यस वर्ष ८१ भवन पुननिर्माण थालेको उनले
जानकारी दिए । केही वर्ष भित्रै माओवादीले ध्वस्त पारेका देशभरका सात सय ६८ भवन
निर्माण गरिने जानकारी पनि दिए ।

कोहलपुरमा सुरक्षा बढाउन महिला सेल र वडा प्रहरी कार्यालय स्थापनाको माग स्थानीय
वासिन्दाले गरेका छन् । कोहलपुर उद्योग वाणीज्य संघका अध्यक्ष चिन्तामणी धितालले
सिमित साधन श्रोत भएको इलाका प्रहरी कार्यालयको जनशक्ति विशिष्ट ब्यक्तिहरुको
स्कटिङ्गमा खटिदा जनसाधारणको सुरक्षामा कठिनाई हुने गरेकाले त्यस्तो अवस्था आउन
नदिन आग्रह गरे ।

कोहलपुर नगरविकास समितिका अध्यक्ष भिमप्रसाद देवकोटाले प्रहरी भित्रकै खराव
ब्यक्तिलाई कारवाही हुन थालेको सुन्दा सुरक्षा सुदृढ हुने आशा जागेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे र डिआइजी केदार प्रसाद
साउदले मध्य र सुदुरपश्चिमको मुख्य नाकाको रुपमा रहेको कोहलपुर इलाका प्रहरीलाई
अहिलेको आवश्यकता अनुरुप सक्षम बनाइने आश्वासन दिएका छन् । कोहलपुरमा बढ्दो अपराध
नियन्त्रणका लागि इलाका प्रहरीको क्षमता वृद्धि संगै छिटैनै दंगा नियन्त्रण प्रहरी
गण स्थापना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश
अमात्यले मंगलवार कोहलपुर पुगेर प्रहरी महानिरीक्षक र गृहमन्त्रालय शान्ति सुरक्षा
महाशाखाका सह सचिव सुधिर कुमार शर्मा लगायतका अधिकारीलाई स्थानिय आवश्यकताका बारेमा
विस्तृत जानकारी गराएका छन् ।