काठमाडौं – राजाधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार सुडान घोटालामा सवैभन्दा बढी धरौटी तोकिएका मूख्य दुई आरोपी पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा र नेपाली ठेकेदार शम्भू भारती बुधबार थुनामुक्त भएका छन् ।
भारती सिद्धार्थ र सिभिल बैंकको बैंक ग्यारेन्टी र राणा काठमाडौं र ललितपुरको जग्गा जेथा जमानत राखेर मुक्त भएका हुन् । राणाले धरौटीका लागि देखाएको भक्तपुरको नगरकोट ३ (ख) को कित्ता नम्बर ४२ सहित १ सय १६ रोपनीभन्दा बढी जग्गाको लालपुर्जा सरकारको नाममा रहेको भन्दै विशेषले फिर्ता पठाएको थियो ।
विशेष अदालतले बुझाउन भनेको १५ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि राणा साउन ९ गतेदेखि कारागारमा थिए । भारती भने साउन १३ गतेदेखि १५ करोड रुपैयाँ नै धरौटी जोहो गर्न नसकेर कारागारमा थिए ।
यसैबीच अख्तियारले बुधबार नै सुडान काण्डका आरोपी पूर्व डीएसपी हरिहर श्रेष्ठलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।



