अबदेखि विद्यालयका विद्यार्थी र शिक्षक दुवैले कक्षामा मोबाइल फोन प्रयोग गर्न नपाउने

काठमाडौं   – राजधानी काठमाडौंबाट पठाइएको समाचार अनुसार शिक्षा विभागले कक्षाकोठामा मोबाइल फोन प्रतिबन्धित गरेको छ । अबदेखि विद्यालयका विद्यार्थी र शिक्षक दुवैले कक्षामा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । 

‘मोबाइल फोनले पढाइ प्रभावित भएको गुनासो बढेकाले कक्षाकोठामा प्रयोग रोक्ने निर्णय गरेका छौं,’ विभागका निर्देशक डिल्ली रिमालले भने, ‘यो नियम विद्यालय तह कक्षा १२ सम्म लागू हुनेछ ।’

विभागले कार्यान्वयनका निम्ति सबै जिल्लामा परिपत्र गरिसकेको छ । ‘शिक्षामा प्रविधिको नकारात्मक प्रभाव रोक्न जनचेतना जगाउन पहिलो कदम चालिएको हो,’ रिमालले भने, ‘दण्ड, जरिवानाका बारेमा बोलेका छैनौं ।’ यसअघि उच्च माध्यमिक विद्यालय संघले विद्यालय हाताभित्र मोबाइल प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।