प्रतिव्यक्ति ९११७ रुपियाँ ७२ पैसा पर्ने नेपालको वैदेशिक ऋण तिर्न गएका दुई युवालाई पैसै नलिई फर्काइए

विराटनगर  – राष्ट्र र नागरिकलाई ऋण मुक्त गरी समृद्ध बनाउने भन्दै आफ्नो थाप्लामा परेको वैदेशिक ऋण तिर्न गएका दुई युवालाई पैसै नलिई फर्काइएको छ। नेपाल राष्ट्र ब्याङ्क र कोष तथा लेखा नियन्त्रण कार्यालयले यस्तो रकम राख्‍ने शीर्षक नभएको भन्दै फर्काएको जानकारी दुई युवाले दिए। पछिल्लो तथ्याङ्कअनुसार नेपालको वैदेशिक ऋण प्रतिव्यक्ति ९ हजार १ सय १७ रुपियाँ ७२ पैसा पर्ने देखिन्छ।

 

सुनसरीका प्रदीपकुमार काफ्ले र कास्की लेखनाथ नगरपालिका निवासी थानेश्वर बराल ‘ध्रुव’ ले आज यहाँ पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएका हुन।

देश वैदेशिक ऋण लिन्छ तर बेरुजु कहालीलाग्दो छ भन्दै बेरुजु फर्स्योटका विषय जति उठान हुनुपर्ने हो त्यति नभएको तथा फर्स्योटको सङ्कटसमेत नदेखिएकोमा उनीहरुले ध्यानाकर्षण पनि गराएका थिए।

आजभन्दा अगाडि लिएको ऋणको सदुपयोग वा दुरूपयोग जे भए पनि र अब आइन्दा नालायकरूपमा यस्तो ऋण नलिन खबरदारीका साथ आफ्नो भागमा पर्ने ऋण तिरेर मुक्त हुने क्रममा जाँदा त्यत्तिकै फर्काइएको गुनासो उनीहरुको छ।

उक्त दुबै निकायले रकम बुझ्न नमानेको भनी जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दर्ता गराउँदा त्यसउपर गृह मन्त्रालयमार्फत निर्देशनमात्र गर्ने भनी निवेदनमा तोक लगाई रकम बुझ्न नमानेको उनीहरूले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

उनीहरूले तिर्न बुझाउन लागेको प्रस्तुत रकम बुझाउन पाउने वातावरणको सिर्जन गर्ने क्रममा राज्यको चौथो अङ्गअन्तर्गत आर्थिक पत्रकार मञ्च विराटनगरका अध्यक्ष वेदराज पोडेललाई रु नौ हजार ११७।७२ हुन आउने रकम रु १८ हजार ३५।४४ रकम हस्तान्तरण गरेका छन्।

साथै सो रकम सम्बन्धित निकायमा तिरी भौचरसमेत उपलब्ध गराइदिन अभियानले अनुरोध गरेको छ।

उनीहरूले आफूले सुरुवात गरेको अभियानमा सबै नेपाली नागरिकलाई समावेश गर्न आह्वानसमेत गरेका छन्।
– रासस