काठमाडौ – शान्ति प्रक्रिया र राष्ट्रिय सहमतिका लागि आफूले अघि सारेको अवधारणा औपचारिक रूपमा माओवादी र कांग्रेसका नेताहरूलाई प्रस्तुत गर्दै त्यहीँ भित्रैबाट सहमति खोज्न प्रधानमन्त्री झलनाथ खनालले प्रस्ताव गरेका छन् ।
खनालले बिहीबार साँझ बालुवाटारमा गरेका तीन दलका नेताहरूको बैठकमा साउन २८ भित्रको आफ्नो समय सीमाप्रति शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराउँदै सहमतिका लागि आग्रह गरेका छन् । सहमति खोज्ने अन्तिम पहलस्वरूप प्रधानमन्त्रीले राजनीतिक भेटवार्ता अघि बढाएका हुन् ।
झन्डै एक घन्टा भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल लगायत सहभागी थिए । पाँच बुँदे सहमतिका हस्ताक्षरकर्ता नेताहरूको बैठक बोलाइए पनि कांग्रेस सभापति स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि पौडेल बैठकमा सहभागी भएका थिए ।
‘शान्ति प्रक्रिया र सहमतिका लागि उहाँहरूबीच गम्भीरतापूर्वक कुराकानी सुरु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्रीले आफ्नो विशेष अपिलबारे नेताहरूलाई जानकारी गराउनुभएको छ ।’ प्रधानमन्त्रीले साउन २८ भित्र शान्ति प्रक्रियाका काम माओवादीले पूरा गर्नुपर्ने र त्यसपछि सहमतिको सरकारका लागि कांग्रेसले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । शान्ति प्रक्रियाका काम अघि बढे सहमति बन्दै जाने उल्लेख गर्दै अब जसरी भए पनि समस्या समाधानमा गम्भीर हुन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
छलफलमा माओवादी र कांग्रेस दुवै दलका नेताको प्रारम्भिक प्रतिक्रिया सकारात्मक रहेको सल्लाहकार थापाले जानकारी दिए । उनका अनुसार अब यिनै विषयलाई टुंगोमा पुर्याउन शुक्रबार बिहान साढे ८ बजे शान्ति मन्त्रालयमा तीन दलको शीर्ष बैठक बस्ने तय भएको छ ।



