काठमाडौं – माओवादी कसैसँग पनि नझुक्ने र आवश्यक परे फेरि अर्को जनयुद्व लड्ने धम्की ए नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले दिएका छन्। जनमुक्तिका लागि लडेका लडाकुको सम्मानजनक व्यवस्थापन नभए फेरि अर्को जनयुद्व लड्नुपर्ने उनको भनाई थियो।
पूर्णबहादुर रोका मगरद्वारा लिखित ‘थवाङ्’ पुस्तकको शुक्रबार सार्वजनिक गर्दै उपाध्यक्ष वैद्यले जनयुद्वको केन्द्रीय आधार रोल्पाको थवाङ् गाविसबाट सुरु भयो, त्यो महान जनयुद्धको सपना अहिले पनि पूरा भएको छैन, लडाकु सम्मानजनक समायोजन भएन भने फेरि अर्को थवाङ् बनाउनुपर्ने बताए।
विकल्प तयार नभई राजीनामा आउँदैन : गुरुङ
माओवादीका प्रमुख सचेतक देव गुरुङले विकल्प नहुन्जेल प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका छन्। मिडिया भिजन नेपालद्वारा आयोजित अन्तर्क्रियामा सचेतक गुरुङले विकल्पबिना राजीनामा दिँदा राजनीतिक अन्योल अझ बढ्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका हुन्।
विगतका कमीकमजोरीलाई सच्याएर वर्तमान संविधान सभाबाटै संविधान बनाउनुको विकल्प नभएको भन्दै सरकार र शान्ति प्रक्रियालाई सेना समायोजनसँग जोड्न नहुने उनको भनाइ थियो।