विराटनगर – माओवादी र एमाले सात बुँदे सहमति अनुसार अगाडि हिंडिरहेको आरोप कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले लगाएका छन् ।
प्रधानमन्त्री झलनाथ खनालले ५ बुँदे सहमति कै आधारमा भदौ २८ गते राजीनामा गर्न लागेको उनको भनाइ थियो । मानवअधिकार तथा शान्ति समाज विराटनगरले शनिबार योजना गरेको ‘शान्ति संविधान, मानव अधिकार र शुसासन’ बिषयक अन्तरकृयामा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन् ।
‘बाहिर जे जे भनेपनि यो आलोपालो सहमति अनुसार नै प्रधानमन्त्रीले राजीनामा गर्न लागेका हुन् २८ गतेपछि प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा छन्,’ कोइरालाले भने ।
प्रचण्ड प्रधानमन्त्री बनेपछि संविधान सभाको म्याद नथपेर आफू सधै रहने दाउमा रहेको कोइरालाको आरोप थियो । कांग्रेसले सदन अवरुद्ध बनाउन नहुने र प्रधानमन्त्रीको राजीनामाको साटो शान्ति र संविधानलाई प्रमुख मुद्धा बनाउनु पर्ने कोइरालाको भनाइ थियो ।
अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने भएको हुँदा संसदीय दलको नेता को भन्ने भन्ने विवाद गर्नुको तुक नभएको उनको भनाइ थियो ।



