काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा सात प्रदेशसहितको राज्य पुनर्संरचनाको प्रारूप प्रस्तुत गरेको छ । बैठकले अन्तिम रूप दिएपछि यस अवधारणालाई अन्य राजनीतिक दलसँग सहमति जुटाउन छलफलमा लैजाने पार्टीको योजना छ ।
पार्टीबाट उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिले यो प्रारूप तयार पारेको हो । बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यले प्रारूपको मस्यौदा प्रस्तुत गरेका थिए । मस्यौदामा उपत्यकालाई छुट्टै राजधानी प्रदेशका रूपमा राखिएको छ । मधेस-तराई लाई २ प्रदेश बनाउने प्रस्ताव छ ।
यसअघि कांग्रेसले संविधानसभा राज्य पुनर्संरचना तथा शक्तिको बाँडफाँड उपसमितिमा सुरुमा १४ र पछि ६ प्रदेश प्रस्ताव गरेको थियो । आचार्यले त्यसैमा आधारित भएर अहिलेको प्रारूपमा राजधानीलाई छुट्टै प्रदेशका रूपमा थपिएको
बताए । प्रदेशको नामकरण भने अन्तिम रूप दिएपछि गरिने आचार्यले बताए । प्रस्तावमा कांग्रेसले संविधानसभाले संघहरूको नाम राखे पनि/नराखे पनि पछि बन्ने प्रादेशिक संसद्ले नाममा पुनर्विचार र परिवर्तन गर्न सक्ने उल्लेख छ ।
संविधानसभामा पठाइएको १४ प्रदेशको तुलनामा आफूहरूले ल्याएको सात प्रदेशको प्रस्ताव धेरै वैज्ञानिक रहेको कांग्रेसको दाबी छ । संघको नक्सा निर्धारण गर्दा पहिचानका पाँच र सामथ्र्यका चार आधार प्रस्तुत गरिएको छ । पहिचानमा जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक/ क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरतालाई आधार मानिएको छ । सामथ्र्यका आधारमा आर्थिक अन्तरसम्बन्ध र शक्ति, पूर्वाधार, विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता र प्रशासनिक सुगमता छन् ।



