काठमाडौ। आजदेखि कुनै पनि व्यक्तिले कुनै पनि सार्वजनिकस्थलमा धूमपान गरेमा सरकारले कानुनी कार्वाही गर्ने भएको छ ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले कानुनी कार्वाही गर्ने भएको हो ।
ऐनअनुसार सार्वजनिक स्थान भन्नाले राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र बालउद्यान तथा क्लब , सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल लगायतका स्थान बुझाउँछ ।
छब्बिस वर्ष पहिलेदेखि अर्वुद रोग निवारण संस्था तथा अन्य सरकारी तथा गैह्र सरकारी संस्थाले सूर्ति र सूर्तिजन्य वस्तुको सार्वजनिक स्थानमा सेवन गर्नु नपाउने सन्दर्भमा वकालत गर्दै आएका थिए ।
अन्ततः २६ वर्षपछि नेपाली जनताको माग सो ऐनले पुरा गरेको नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले बताए ।
सार्वजनिक स्थानमा धूमपान गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा रु १ सय जरिवाना तथा दुवै सजायँ हुन सक्छ । सरकारी कर्मचारीका हकमा भने विभागीय कार्वाही अगाडि वढाउन सकिने व्यवस्था कानुनमा भएको छ ।
सूर्ति तथा सूर्तिजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गर्ने निकायले पनि सो कानुनको पूर्ण पालना गर्नुपर्ने भएको छ । उत्पादनको हकमा सूर्तिको प्याकेट वा चुरोटको बट्टामा ७५ प्रतिशत हानिकारकका विज्ञापन छाप्नुपर्ने र बिक्री वितरण गर्नेको हकमा पनि धूमपान हानिकारक छ भनी सचेत गराउनुपर्ने उल्लेख गरिएको छ ।
नेपालमा धूमपानका कारण झन्डै ३० मिनेटमा एक नेपालीको अकालमै ज्यान जाने गरेको र नेपालमै धूमपानकै कारण ९० प्रतिशत मानिस फोक्सोकै कारणबाट क्यान्सर पीडित बन्ने गरेको विद्यालयस्तरीय स्वास्थ शिक्षा तथा धूमपान नियन्त्रण कार्यक्रमका संयोजक सुन्दर थापाले बताए ।
सन् २००६ को नेपाल जनसाङ्ख्यिक सर्वेक्षण अनुसार नेपालका ५६ दशमलव ५ प्रतिशत पुरुष र १९ दशमलव ६ प्रतिशत महिलाले सूर्ति तथा सूर्तिजन्य पदार्थ सेवन गर्छन् । सन् २००७ को तथ्याङ्क अनुसार १२ प्रतिशत किशोरकिशोरीले धूमपान तथा सूर्तिजन्य वस्तुको सेवन गर्दै आएका छन् ।
सिरमेमोरियल अस्पताल बनेपाको सहआयोजना र नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय समितिले आज आयोजना गरको अन्तरक्रिया कार्यक्रममा धूमपानको लत बसेका व्यक्तिबाट मात्र ३५ प्रतिशत अन्य मानिस पनि धूमपानको सिकार बन्ने गरेको तथ्याङ्क पेस गरिएको थियो ।
परामर्शकर्ता सत्य गुरुङका अनुसार धूमपान तथा सूर्तिजन्य पदार्थको सेवनबाट निकोटिन, टार, कार्बनमनोअक्साइड, लिड, नाइट्रोसोमाइनजस्ता क्यान्सरजन्य चार हजारभन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थबाट पीडित बन्न गई अन्ततः क्यान्सर,मुटुरोग, दम,मधुमेहलगायत २५ थरीभन्दा बढी रोगको सिकार भई बाँच्नुपर्ने हुन्छ ।
विश्वमा धूमपानका कारण उब्जने रोगले वार्षिक तीन करोड ५० लाख मानिसको अकालमै मृत्यु हुने गरेको बताइन्छ ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ तथा जनसङ्ख्या मन्त्री लोकेन्द्र विष्टले धूमपान स्वास्थका लागि निक्कै हानिकारक रहेको उल्लेख गरे ।