विशेष अदालतद्धारा सुडान घोटाला प्रकरणका आरोपी ३५ जना मध्ये ३२ जनासँग बयान

विशेष अदालतले सुडान घोटाला प्रकरणका आरोपी ३५ जना मध्ये ३२ जनासँग बयान लिएको छ । अदालतले आजसम्म ३२ जना आरोपीहरुको बयान लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको जनाएको छ ।

 

अब अदालतमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक दिपक सिंह थाङ्देन, प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डे र प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ मात्र हजार हुन बाँकी रहेको अदालतका रजिष्टार धीरबहादुर चन्दले जानकारी दिनुभयो । सुडान घोटाला प्रकरणमा विशेष अदालतले आज पूर्व प्रहरी नायव महानिरीक्षक सुरेन्द्र बहादुर पाल र निलम्बित प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठलाई साधारण तारेखमा आदेश दिएको छ ।

 

आदेशमा निर्णय पुस्तिकामा लेखिएको कलमको अक्षर भन्दा फरक किसिमले पाल र श्रेष्ठको नाम लेखिएकोले तत्कालको प्रमाणबाट दाबी कसुर गरेको नदेखिएकोले साधारण तारेखमा राख्न भनिएको छ ।