यही साउन २८ गते सम्ममा प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने

काठमाडौ –   यही साउन २८ गते सम्ममा पनि शान्ति प्रकृयामा प्रगति नभए प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने प्रतिबद्धता जनाएपछि संसदको बैठक सुचारु भएको छ । 

प्रमुख प्रतिपक्षी काँग्रेसले प्रधानमन्त्रीको राजिनामा माग गर्दै लागातर आठौं पटकसम्म पनि संसदको बैठक अबरुद्ध पारेका थिए । 

प्रधानमन्त्रीको बक्तब्य उपप्रधान मन्त्री भरतमोहन अधिकारीले संसदको बैठकमा बुधबार पढेर सुनाएपछि काँग्रेसले बैठक सुचारु हुन दिएको हो । बक्तब्यमा २८ गतेभित्र शान्ति प्रकृयामा कुनै प्रगति नभए सरकारको आचित्य समाप्त हुने हुनले राजिनामा दिने प्रतिबद्धता दोहोर्याएका हुन् । 

यसअघि नै प्रधानमन्त्री खनालले सार्वजनिक रुपमै उक्त कुरा बताइ सकेका थिए । काँग्रेसले भने गत जेठ १४ गते माओवादी, काँग्रेस र एमालेबीच भएको सहमति अनुसार तत्काल राजिनामाको माग गरी संसदको नियमित बैठक अबरुद्ध पार्दै आएका थिए । 

बुधबार बैठक सुचारु भएपछि बजेट चुहावट सम्बन्धी छानविन गर्न बनेको उच्चस्तरिय समिति र तीन दलबीचको सहमति कार्यन्वयन अनुगमन समितिको प्रतिवेशन संसदमा प्रस्तुत भएको छ ।