गत बिहीबारदेखि अत्यधिक वर्षा भएपछि स्थानीय छ्यालुङ्ग लाङ्गताङ्ग सिंचाईको कुलो भत्किएर पहिरो जाँदा कुलो भन्दा करिब एक सय मिटर मुनी रहेको श्रीनागी गाउँ जोखिममा परेको स्थानीयबासीले बताएका छन् ।
स्थानीय नरबहादुर लुङ्गेली, सुवितमान खड्का, गोरख बहादुर लुङ्गेली, दिबहादुर खड्का, दिलमाया लुङ्गेली, विर्खबहादुर लुङ्गेली, गणेश थापालगायत विस्थापित भएको सिंचाइ उपभोक्ता समितिका अध्यक्ष नारद कटुवालले जानकारी दिए ।
वर्षाले छयालुङ्ग लाङ्गताङ्ग सिचाई आयोजनाद्धारा गत महिनादेखि संचालित लेगुवा खोला लघु जलविधुत आयोजना बन्द हुंदा स्थानीय ४ सय २६ उपभोक्ता विद्युत सेवाबाट बन्चित भएका छन् । यसैगरी भर्खरै रोपाइ गरिएको १ सय ५० रोपनी क्षेत्रफलको धान र ५० रोपनी क्षेत्रफलको अलैची बाली समेत नष्ट भएको छ । वर्षाले कुलोको करिब ६० मिटर लम्बाइ क्षतिग्रस्त बनाएको डिभिजन सिंचाइ कार्यालयका प्राविधिक देवकृष्ण साहले बताए ।
पहिरो पीडितलाई प्रहरी र स्थानीयबासीले उद्धार गरि सुरक्षित स्थानमा राखेको प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले जानकारी दिए । पहिरो गएको स्थान जिल्ला सदरमुकामबाट ३६ कोष उत्तरमा पर्दछ । पीडितलाई रेडक्रस र प्रशासनले प्रारम्भिक राहत उपलब्ध गराएको जनाएको छ ।



