पार्टीमा स्वार्थी र सत्ता केन्द्रित भइरहेका नेताका कारण असमझदारी बढ्दै गएको कांग्रेस नेताको भनाइ

भक्तपुर  – पार्टीभित्र सत्तामोह हाबी हुँदै गएकाले विवाद चुलिँदै गएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीमबहादुर तामाङले बताएका छन् ।

भक्तपुरको नगरकोटमा ‘लोकतन्त्रका लागि युवा गठबन्धन’ले गरेको लोकतान्त्रिक समाजवाद विषयक गोष्ठीमा तामाङले केही स्वार्थी र सत्तामा केन्द्रित भइरहेका नेताका कारण असमझदारी बढ्दै गएको बताए ।

कांग्रेसको नेतृत्व लिने व्यक्ति सत्तामुखी बन्दै गएको आरोप लगाउँदै उनले भने, ‘सत्ता म्युजिकल चियर बन्दै गएको छ यसको कुनै औचित्य छैन, यसलाई कांग्रेसले बुझ्नुपर्छ, बुझेन भने ठोकिन्छ ।’ पार्टीहरू सत्ताको खेलमा लागेकै कारण संविधान बन्न नसकेको आरोप उनले लगाए । सत्ताको मोह दलहरूले नत्यागेसम्म संविधान बन्न ढिलाइ हुने उनको भनाइ थियो ।

कांग्रेसमा अहिले ९९ प्रतिशत कार्यकर्ता फाइदा लिनकै लागि घुसपैठ भएकोसमेत उनले बताए । ‘नेतृत्व पंक्ति तिख्खर र बलियो बन्न नसकेकै कारण कांग्रेसमा विवाद बढ्दै गएको हो,’ उनले भने ‘बीपीको समाजवादको बाटो कांग्रेसले बिराउँदै गएकाले कांग्रेस पछाडि पर्दै गएको छ ।’

आर्थिक लाभका लागि कांग्रेस प्रवेश गर्नेको संख्या बढेको भन्दै यसलाई तत्काल नेतृत्वले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेसका युवा नेता एवं तरुणदलका पूर्व अध्यक्ष विनोद कायस्थ, गुरुराज घिमिरे लगायतले पार्टीले समाजवादको अवधारणा अनुसार विपन्न, सीमान्तकृत समुदायलाई लक्षित गरी कार्यक्रम ल्याउन नसकेको धारणा राखे ।