विराटनगर, साउन २७ – युवा संघ मोरङ अध्यक्ष रविन थापाले आफूहरूविरुद्ध समाचार लेख्ने सबै पत्रकारलाई खिलानाथ ढकालकै हालत बनाइदिने धम्की दिएका छन्।
नागरिक दैनिकका खिलानाथ ढकाललाई युथफोर्स मोरङ अध्यक्ष बस्नेतको निर्देशनमा आक्रमण भएको दुई महिनापछि युवा संघ जिल्ला अध्यक्षले खुलेआम धम्की दिएका हुन्।
थापाले पर्शुराम छुटाउन गरिएको आन्दोलनको विरोध गर्ने एमाले नेता/कार्यकर्तालाई पार्टी कार्यालय प्रवेश निषेध गरिएको दाबी गरे। स्थायी कमिटी सदस्य केपी ओली पक्षधर एमाले कार्यकर्ताले पर्शुरामको मुद्दा फिर्ता लिन दबाब दिन शनिबार युवा संघ केन्द्रीय अध्यक्ष महेश बस्नेतको नेतृत्वमा शक्ति प्रदर्शनको तयारी गरेको छ।
थापाले मोरङ प्रहरीप्रमुख एसपी प्रद्युम्न कार्कीको समेत ‘जसरी पनि सरुवा गराएरै छाड्ने’ चेतावनी दिए।
यसैबीच, युवा संघ मोरङ अध्यक्ष थापाको धम्कीप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ मोरङले गुण्डाको आडमा धम्की दिँदैमा कोही नडराउने जनाएको छ। महासंघ शाखा अध्यक्ष विक्रम निरौलाले भने, ‘कुनै पत्रकारलाई तलमाथि भए एमाले र युवा संघले जिम्मेवारी लिनुपर्छ।’
‘गुण्डाहरूले स्वतन्त्र प्रेसमाथि निर्लज्ज हमला गर्न खोजेको’ भन्दै उनले एमाले पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन्।



