काँग्रेस शेरबहादुर देउवा प्रधानमन्त्री उम्मेदवारका लागि संसदीय दलका नेता पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ताको तयारीमा

काठमाडौ  – प्रधानमन्त्रीको उम्मेदवार हुनका लागि नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले संसदीय दलका नेता रामचन्द्र पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ताको तयारीमा जुटेका छन् । 

काँग्रेस केन्द्रीय समिति बैठकबाट उम्मेदवार हुन नसक्ने देखेपछि देउवाले संसदीय दलको नेताबाट पौडेललाई हटाउने सोचेका हुन् । देउवाको अविश्वासको प्रस्ताव ल्याउने तयारीलाई संस्थापन पक्ष्ाले पार्टीलाई कमजोर बनाउने ‘षड्यन्त्र’ को संज्ञा दिएको छ । 

कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । पौडेललाई हटाउन उनले यसअघि नै सभासदको हस्ताक्षरसमेत गराइसकेका छन् । देउवा निकट केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय -डिना) का अनुसार केन्द्रीय समितिबाटै सहमति खोजेर अघि बढ्नका लागि केही दिन अविश्वासको प्रस्ताव थाँती राखिएको थियो । तर सहमति हुन नसकेपछि बाध्य भएर अविश्वासको प्रस्ताव ल्याउन लागिएको हो । 

‘सहमति गरेर जान दलको नेता नहटाउने र प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाउनेबारे पहिला उतैबाट -सभापति सुशील कोइरालाबाट) कुरा आएको हो, तरपछि नमानेपछि अविश्वास प्रस्ताव ल्याउन बाध्य हुनुपरेको हो,’ उपाध्यायले भनिन्, ‘बहुमत सभासदको हस्ताक्षरसमेत पुगिसकेको छ, सोमबार दर्ता गरिनेछ ।’ 

कांग्रेसका सभासद १ सय १४ जना छन् । पौडेललाई हटाउन कम्तीमा ५८ सभासदको मत आवश्यक पर्छ । यसअघि ०६६ असारमा भएको संसदीय दलको नेताको निर्वाचनमा खसेको १ सय ९ मतमध्ये पौडेलले ६१ मत र देउवाले ४८ मत पाएका थिए । 

देउवाले गत वैशाख ९ मा पदाधिकारी अनुमोदन गराँूदा दलको नेता आफूलाई दिने सहमति भएको दाबी गर्दै आएका थिए । तर सभापति कोइरालाले त्यस्तो गोप्य सहमति केही नभएको भन्दै देउवाको दबाब मान्न अस्वीकार गरेपछि उनी अविश्वास प्रस्ताव ल्याउने तयारीमा लागेका हुन् । कोइरालाले बारम्बार ‘पौडेलजी मान्नु भएन’ भन्दै सहयोग नगर्ने स्पष्ट संकेत दिएपछि देउवाले अविश्वासको प्रस्ताव ल्याउने ‘कार्ड’ पुनः फालेका छन् । देउवालाई सकेसम्म प्रधानमन्त्री बनाउन नहुने भित्री खेलमा सभापति कोइराला र पौडेल दुवै छन् । 

प्रधानमन्त्री झलनाथ खनालसँगको शुक्रबारको भेटमा समेत कोइरालाले शान्ति प्रक्रियामा ‘प्रचण्ड’ ले स्पष्ट कार्यतालिका ल्याएमा राजीनामा दिन नहतारिन भनेका थिए ।  

 देउवा प्रधानमन्त्री भएमा पार्टीमा कब्जा जमाउने चिन्ता संस्थापन पक्षको छ । देउवा भने पार्टीबाट उम्मेदवार भएमा माओवादी समेतको समर्थनमा प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताँूदै आएका छन् । 

‘उहाँ आफ्नो पार्टीको बलमा भन्दा पनि अर्काको पार्टीको आडबाट प्रधानमन्त्री हुन्छु भनेर लाग्नु भएको छ । तर यो पार्टीभित्र विभाजन ल्याउन गरिएको चालबाजी मात्रै हो,’ कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएर कांग्रेसको नेतृत्व स्वीकार्ने कुरा भएमा र त्यसमा पनि शेरबहादुरजीलाई मान्छौं भनेर कुरा आएमा पो अविश्वासको प्रस्तावको पनि एउटा आधार हुन्थ्यो ।’ 

देउवाले पक्षले ५८ सभासदको हस्ताक्षर भइसकेको दाबी गरे पनि संस्थापन पक्ष्ाले हस्ताक्षरकर्तामध्ये ५ जनाभन्दा बढी फिर्ता भइसकेको बताएको छ ।