गोरखा – चामल ढुवानीको विषयमा भएको विवादका कारण आज बिहानैदेखि गोरखा बजार बन्द छ। नेपाल खाद्य संस्थानको चामल ढुवानी गर्नका लागि माछा खोला र सिर्दीवास डिपोमा टेन्डर बुझाउने आज अन्तिम दिन एमाओवादी निकट युवाहरुको आतङ्कका कारण बजार क्षेत्र तनावग्रस्त भई बन्द भएको हो।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्ष र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीच झड्प भएको हो। झड्पमा वाइसियल नेपालका केन्द्रीय सदस्य हरिबहादुर पाण्डे घाइते भएका छन्।
भट्टराई पक्षका कार्यकर्ताले हानेको ढुङ्गा लागेर टेण्डरका लागि काठमाडौँदेखि आएका अशोक लामिछाने पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
यसरी घाइते हुनेहरुमा अकुर तिमिल्सिना, दीपक तिमिल्सिना, अमृत केसी, विनोद पाण्डेलगायतका दाहाल पक्षका कार्यकर्ता छन् भने भट्टराई पक्षका कार्यकर्ताले लिएका खुकुरी र रड प्रहरीले नियन्त्रणमा लिएको छ।
खाद्य संस्थानमा आक्रमण भएपछि होटल हिमालयनमा रोकिराखिएका तीनवटा मोटरसाइकलमा पनि तोडफोड भएको छ। सुरक्षाका लागि सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
– रासस