धनुषा र सिरहा जोड्ने कमला नदीमा डुंगा फुट्दा डुंगामा सवार १५ जना यात्रु बेपत्ता

जनकपुर  –  प्राप्त समाचार अनुसार धनुषा र सिरहा जिल्लाको सीमाना जोड्ने कमला नदीमा डुंगा फुट्दा डुंगामा सवार १५ जना यात्रु हराइरहेका छन् । 

उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  धनुषाको सिंगियाही मरानको कोयलपुर घाटबाट ३०/३५ जना डुंगामा चढेर सिरहाको निर्दनातर्फ आइरहेको अवस्थामा मंगलवार साँझ नदीको बीचमा नै डुंगा फुट्दा डुंगामा सवार यात्रुहरुलाई नदीले बगाएको थियो । 

डुंगामा सवार यात्रुहरु मध्ये २० जनालाई स्थानीयबासी, सशस्त्र प्रहरीले उद्धार गरेपनि १५ जना अझै हराइरहेको र उनीहरुको खोजी कार्य स्थानीयबासी र प्रहरीले गरिरहेको स्थानीय मुसहरु यादवले बताए । 

डुंगामा सवार रहेको यात्रुहरुको संख्या यकिन नभएकोले कति जना हराइ रहेको अहिले नै भन्न नसकिने उनले बताए । नदीमा मंगलबार अचानक आएको बाढीले डुंगा फुटेको स्थानीयबासीहरुले बताए । 

डुंगामा सवार र हराइरहेकाहरु अधिकांश चिकना गाविसस्थित निर्दनाको नै रहेको स्थानीय राजबिन्द यादवले बताए ।