सङ्क्रमणकालका संवेदनशीलता र चुनौती ख्याल गरी सुरक्षा निकायमा उच्च सतर्कता

काठमाडौ  – काम चलाऊ प्रधानमन्त्री झलनाथ खनालले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाई मंगलबार उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छन् ।

उनले सिंहदरबारस्थित कार्यालयमा एक घण्टा छलफल गरी संक्रमणकालका संवेदनशीलता र चुनौतिहरु ख्याल गरी उच्च सतर्कताका साथ कार्य सम्पादन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्री खनालले नेपाली सेनाका प्रधान सेनापति छत्रमानसिंह गुरुङ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख मोतिबहादुर गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ प्रमुखलाई बोलाएर निर्देशन दिएका हुन् । उक्त अवसरमा मुख्य सचिव माधव घिमिरे, गृह सचिव लीलामणि पौडेल र रक्षा सचिव नवीन घिमिरेसमेतको उपस्थितिमा रहेका थिए ।