सरकारले सबै विद्यालयको बस तथा माईक्रो बसलाई सुन्तला रङको बनाई संचालन गर्न निर्देशन दिएको छ ।
शिक्षा मन्त्री गंगालाल तुलाधरले शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी विद्यालयलाई शान्ति क्षेत्र बनाउने क्रममा विद्यालयका बसहरुलाई एकै रङको बनाउन लागिएको जानकारी दिनुभयो । उहांले बसको रङ एकै प्रकारको भएपछि बन्द तथा हडतालहरुमा निर्वाध संचालनको पहल गरिने जानकारी दिनुभयो ।
मन्त्री तुलाधरले विद्यालयका सवारी साधनहरुलाई सुन्तला रङको बनाउने कार्य यही भाद्र महिना भित्रमा सक्न सम्बद्ध शैक्षिक संस्थाहरुलाई मन्त्रालयले निर्देशन दिईसकेको पनि उल्लेख गर्नुभयो ।
सार्वजनिक विद्यालय क्षेत्र सुधार कार्यक्रम सफल पार्न भाद्र १ गतेदेखि अनुगमन तीव्र पारिने पनि मन्त्री तुलाधरले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि मन्त्रालयले आगामी भाद्र ९ गते राजधानीमा बृहत शैक्षिक सम्मेलन गर्ने भएको छ ।
विद्यार्थीहरुको एसएलसीको प्रमाण पत्र हराई पुन लिँदा प्रमाणपत्रमा डुब्लिकेट उल्लेख गरी उपलब्ध गराउदैँ आएकोमा यहि आउने भाद्र १५ गतेदेखि डुब्लिकेटको सट्टा कपि अफ ओरिजिनल उल्लेख गरी उपलब्ध गराईने भएको छ ।