विराटनगर – निर्यातमा आधारित बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको गार्मेन्ट उद्योग बन्द भएको छ । ‘असुरक्षा’ कारण जनाउँदै उद्योग व्यवस्थापनले असार १ गते कारखानामा ताला लगाएको थियो ।
आयातकर्ताले ‘अर्डर’ रद्द गर्न थालेपछि उद्योग अब नखुल्ने निश्चितजस्तै भएको व्यवस्थापन स्रोतले जनाएको छ । उद्योगका करिब मजदुर र कर्मचारीलाई बुधबारदेखि उनीहरूले पाउने पारिश्रमिक चुक्ता गर्न थालिएको छ । उद्योगले जेठसम्मको तलब दिने भएको छ ।
उद्योगका कर्पोरेट भाइस प्रेसिडेन्ट रवि केसीका अनुसार भारत तथा समुद्रपार मुलुकबाट ६ महिनासम्मका लागि खरिद अर्डर थियो । तर त्यसअनुसार खरीदकर्तालाई उत्पादन दिन नसकिएकाले बन्द गर्नुपरेको हो । टे्रड युनियनहरू अनि श्रम मन्त्रालयको सहमति र स्वीकृतबेगर उद्योग आफुखुसी बन्द गर्न नपाइने नेपाल टे्रड युनियनका केन्द्रीय सदस्य तेजलाल कर्णले बताए ।
मोरङको टंकिसिनवारीस्थित उक्त गार्मेन्ट उद्योगका मजदुरले गत चैतमा उद्योग बन्द भएको ८ दिनको पारिश्रमिक पाउनुपर्ने माग राख्दै आएका थिए । आफ्ना माग सुनुवाइ नगरेको भन्दै उनीहरुले दबाब दिन जेठ ३१ गते उद्योगका ४२ जना कर्मचारीलाई थुनेका थिए ।
त्यसको भोलिपल्ट प्रहरीले बल प्रयोग गरी उनीहरूलाई मुक्त गराएको थियो । त्यसक्रममा प्रहरी र मजदुरबीच झडप भएको थियो । यो घटनापछि व्यवस्थापनले असुरक्षा भएको भन्दे उद्योगमा ताला लगाएको थियो ।
४ सय ५० महिलासहित करिब साढे ६ सय मजदुर-कर्मचारीले उद्योगमा प्रत्यक्ष रोजगारी पाएका थिए ।



