काठमाडौ – भदौ १४ गते भित्रमा लडाकुको रिग्रुपिङको काम सकेर सहमतिको सरकारको नेतृत्व गर्न माओवादी तयार रहेको माओवादीका स्थायी समिति सदस्य वर्षमान पुनले बताएका छन् ।
रिपोर्टर्स क्लबमा बोल्दै बिहीबार पुनले समायोजनको मोडालिटी, संख्या, पुर्नस्थापना प्याकेज, उमेर, बैवाहिक अवस्था र शैक्षिक अवस्थामा लचकता अपनाउने र आठ हजारको हाराहारीमा समायोजना गर्ने भनि शीर्ष नेताहरुबीच अनौपचारिक रुपमा सहमति भइसकेको दावी गरे । उनले भदौ १४ गतेसम्म रिग्रुपिङको काम सम्पन्न हुने पनि बताए ।
‘पुर्नस्थापना प्याकेज आर्कषक बनाए संख्याको विवाद समाधान हुनेमा सबै सहमत छन् । दर्जा मिलानमा नेपाली सेना र माओवादी कमाण्डरहरु बसेर सहमति खोज्न सकिन्छ’ उनले भने ।
उनले संविधान निर्माणको काममा पनि राज्यको पुर्नसंरचना बाहेकका विषयमा दलहरुबीच मोटामोटी सहमति बनिसकेकाले माओवादीको नेतृत्वमा सहमतिको सरकार निर्माण हुने प्रयाप्त आधार बनिसकेको दावी गरे ।
यस्तै कांग्रेस नेता रामशरण महतले अहिले कांग्रेसको नेतृत्व स्वीकार गरेर निश्चित समयसीमा सहित शान्ति प्रक्रिया अगाडि बढाए कांग्रेस माओवादीलाई नेतृत्व सुम्पिन तयार रहेको स्पष्ट पारे । उनले अहिले कांग्रेसको नेतृत्व र शान्ति प्रक्रिया निष्कर्षमा पुगेपछि माओवादीको नेतृत्व हुने गरी आलोपालो गर्न सकिने बताए ।



