काठमाडौं, भाद्र २ – ‘तपाईंको इन्चार्ज कहाँ हुनुहुन्छ, सिस्टर ?’ मुलुककै जेठो वीर अस्पतालको इमर्जेन्सीमा बिहान ९ बजे सामान्य पोसाकमा गएका एक व्यक्तिले सम्मानपूर्वक सोध्दा रिसाउँदै नर्सले जवाफ फर्काइन्, ‘तपाईंलाई के मतलब..?’
ती व्यक्ति कुनै प्रतिवाद नगरी खुरुखुरु अगाडि बढे । इमर्जेन्सीमा ड्युटी इन्जार्च थिएनन् । त्यहाँ उनले विद्यार्थी चिकित्सक, रोगी र वरपरको फोहोरबाहेक केही देखेनन् । कामचलाउ सरकारका स्वास्थ्यमन्त्री लोकेन्द्र बिष्ट मगर बिहीबार एक्कासि सामान्य पोसाकमा वीरको निरीक्षण गर्न पुगेका थिए ।
‘मलाई त हपार्नुभयो सिस्टर, बिरामीलाई कस्तो गर्नुहुन्छ ?’ केही क्षणपछि स्वास्थ्यमन्त्री बिष्टले सोध्दा रातोपिरो हुँदै कुनै जवाफ फर्काउन सकिनन् । ‘जो आए पनि चिकित्साकर्मीले विनम्रतापूर्वक व्यवहार गरे राम्रो हुन्थ्यो,’ बिष्टले भने, ‘म उहाँहरूको सेवक, मलाई जे भने पनि केही फरक पर्दैन तर बिरामीका लागि व्यवहार सुधार्नु राम्रो हो ।’
स्वास्थ्यमन्त्रीले नर्सिङ स्टाफ ठानेकी महिला वास्तवमा इमर्जेन्सीमा कार्यरत स्वयंसेवक चिकित्सक थिइन् । इमर्जेन्सीमा कार्यरत २० चिकित्सकमध्ये १४ जना स्वयंसेवक छन् । ‘उहाँ नाइटड्युटीमा कार्यरत डा. नेहा चन्द हुनुहुन्छ,’ इमर्जेन्सीका प्रमुख डा. ध्रुव सिंहले भने, ‘एउटै प्रश्न बारम्बार दोहोर्याउँदा उनले स्वाभाविक रूपमा मलाई थाहा छैन भनिन् ।’
चार सय ५८ शय्याको वीरको इमर्जेन्सीको २५ शय्या क्षमता छ । यसमध्ये २ वटा विषको रोगीका लागि, २ वटा टाँका लगाउन, एउटा आईसियूमा र बाँकी २० वटा अन्य उपचारका लागि प्रयोग गरिन्छ ।
निरीक्षणपछि मन्त्री बिष्टले वीरमा इमर्जेन्सीको व्यवस्थापन नराम्रो हुनुका साथै गम्भीरतासमेत नरहेको बताए । ‘इन्चार्जसमेत बस्दैनन्,’ उनले भने, ‘भएको जनशक्ति परिचालन गर्ने क्षमता समेत छैन ।’ उनले अस्पताल निरीक्षण गर्दा त्यहाँ ड्युटीका कर्मचारी र विभागीय प्रमुखहरूलाई समेत पाएनन् ।
बिरामीहरूले स्वास्थ्यकर्मीले गर्ने व्यवहार नराम्रो रहेको र उचित उपचार नपाएको मन्त्रीलाई गुनासो गरेका थिए । ‘गरिबको अस्पताल भनी आइन्छ तर यहाँ कामदार र मालिक जस्तो व्यवहार पाइन्छ,’ आफन्तको उपचारका लागि आएका सन्त महर्जनले भने, ‘मुलुकको अस्थिर राजनीतिको प्रभाव वीरमा समेत देखिन्छ ।’
स्वास्थ्यमन्त्रीले निरीक्षणपछि अस्पतालका निर्देशक डा. बुलन्द थापालाई फोन गरे । तर थापाको मोबाइल स्विचअफ थियो । पछि उनी पोखरा गएको जानकारी मिल्यो । ‘अस्पतालमा अस्तव्यस्तता र अराजकता देखियो,’ बिष्टले भने । उनले व्यवस्थापन कमजोर रहेको, उत्तरदायित्व ननिभाइएको, कमान्ड पावरको अभाव, बिरामीप्रतिको व्यवहार राम्रो नरहेको पाइएको बताए । स्वास्थ्य मन्त्रालयले अस्पताललाई कमी कमजोरीबारे लिखित रूपमा निर्देशन सुझाव दिनेछ । मन्त्रीका अनुसार सुझाव पालना नभए स्पष्टीकरण मागिने र कारबाही पक्रिया थालिनेछ ।
‘अस्पताल प्रशिक्षार्थीमा निर्भर’

यस्तै विशेषज्ञ चिकित्सकको सेवा लिनुपर्ने अवस्थामा र बिरामीको स्वास्थ्यतर्फ ध्यान दिनुपर्दा प्राथमिकता कसरी दिने विषयमा अन्योलपूर्ण अवस्था रहेको उल्लेख गर्दै अविलम्ब सुधार गर्न भनिएको छ । इमर्जेन्सी ड्युटीमा वरिष्ठ चिकित्सकको उपस्थिति न्यून हुने गरेको हालको अवस्थामा सुधार ल्याउनसमेत अस्पताललाई निर्देश दिइएको छ।



