
पाँच बुँदे सहमति कार्यान्वयन संसदीय अनुगमन समितिले तीन दलका शीर्ष नेताहरुसहित शुक्रबार बैठक बोलाएको थियो । तीनै दलका नेताहरुले सहमतीय सरकारका लागि अधिकतम प्रयास गर्ने र प्राप्त अवसर गुम्न नदिने बताएको अनुगमन समितिका सदस्य प्रेमबहादुर सिंहले बताए । राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि भदौ ४ गतेसम्म समय दिएका छन् ।
बैठकमा प्रधानमन्त्री एंव एमाले अध्यक्ष झलनाथ खनालले पाँच बुँदे सहमति कार्यान्वयनकै लागि आफूले राजीनामा दिएको बताए । उनले अन्य सहमति कार्यान्वयनका लागि माओवादी जिम्मेवार हुनुपर्ने बताएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ १४ अगावै शान्ति प्रक्रिया र संविधान निर्माणमा ठोस प्रगती हुने विश्वास व्यक्त गरे । कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणप्रति माओवादी गम्भीर हुनुपर्ने बताएका थिए ।
सभामुख सुवास नेम्वाङले पाँच बुँदे सहमति मध्ये संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजीनामा दुई वटा बुँदा कार्यान्वयन भएको बताए । उनले संविधानको मस्यौदा,शान्ति प्रक्रिया,राष्ट्रिय सहमतिको सरकार,सेनामा मधेशीको सहभागिता लगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयन हुन बाँकी रहेकाले नेताहरुको त्यसतर्फ ध्यानकर्षण गराएका थिए ।



