सहमतीय सरकारको नेतृत्वका निम्ति अरु दलले खोजिरहेको शान्ति प्रकृया टुंग्याउने प्रस्तावलाई लिएर माओवादीभित्र विवाद उत्पन्न भएको बताइएको छ।
नाम उल्लेख गर्न नचाहने माओवादीका एक वरिष्ठ नेताका अनुसार, त्यसै कारण नै शान्ति प्रकृया टुंग्याउने प्रस्ताव बनाउने माओवादीको आन्तरिक प्रयास पटक-पटक विफल भएको हो।
तर माओवादीको प्रधानमन्त्रीका उम्मेदवार बाबुराम भट्टराई निकट एकजना नेताले एक-दुई दिनभित्रै त्यस्तो प्रस्ताव तयार गरिने बताएका छन्।
एकजना वरिष्ठ नेताले बताए अनुसार, कतिपय विषयमा उपाध्यक्ष मोहन वैद्य पक्षको असहमतिले गर्दा शान्ति प्रकृया पुरा गर्ने भरपर्दो आधार तयार हुन नसकेको हो।
बाबुराम भट्टराई निकट पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले पनि विवाद रहेको कुरा पुरै अस्वीकार गरेनन्, तर उनको शैली फरक थियो।
उनले भने, “पार्टीमा केहि विषयमा छलफल, वहस त छन् तर विवादले समस्या अल्झाउने छैन्। शान्ति प्रकृया टुंग्याउन हामी करिव एकजुट भएका छौं।”
केही साता अघिसम्म प्रचण्ड विरोधी गठबन्धनमा बैद्य र भट्टराई पक्ष एकसाथ थिए।
तर नाम खुलाउन नचाहने माओवादीका ती नेताका अनुसार, समायोजनको संख्या, दर्जा, नेतृत्व तथा पुनर्स्थापना र अवकासमा जानेलाई दिने प्याकेज लगायतका अन्य प्रकृयामै बैद्य पक्षले सघाइरहेको छैन्।
नेता पौडेलले त्यस्तो फाटो अस्वीकार गर्दै भने, “सेना समायोजनका विषयमा एक-दुई दिनभित्र बटम लाईन सहितको प्रस्ताव पेश गर्न हामी गृहकार्य गरिरहेका र्छौं।”
सहमतिको सरकार बनाउने म्याद दुई दिन बाँकी छ।



