शान्ति र संविधानका लागि नयाँ चुनावमा जानुको विकल्प नरहेको राप्रपा कमल थापाको भनाइ

काठमाडौ । भदौ १४ भित्र पनि संविधानको मस्यौदा नआउने ठोकुवा गर्दै शान्ति र संविधानका लागि नयाँ चुनावमा जानुको विकल्प नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताए ।

 

राप्रपा नेपाल काठ्माडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको आमसभामा उहाँले संविधानसभाको समय दुई वर्ष पूरा भएर दुईपटक गरेर एक वर्ष तीन महिना म्याद थप्दा पनि संविधानको मस्यौदासमेत दिन नसकेका दलहरु शान्ति र संविधानका लागि इमान्दारी नभएको भन्दै शान्ति र संविधानको लागि नयाँ चुनावमा जानुपर्ने बताए ।

अध्यक्ष थापाले हिजो भर्खरै नेपाली कांग्रेस र एमाओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भनेर गरेको निर्णयले उनीहरु शान्ति र संविधानका लागि नभई सत्ता, भत्ता, सरकार र कुर्सीमा बस्ने काम मात्रै गरिरहेको र जनतालाई सङ्क्रमणकालीन चक्रव्यूहमा फसाउने काम गरिरहेको दाबी गरे ।


राप्रपाका महामन्त्री गणेश शेरचनले सत्तामा रहेका दलहरुले जनताको हक, अधिकारको सुरक्षा गर्नुको सट्टा देशमा अराजकता फैलाउने काम गरिरहेको भन्दै जनताको हक, हित र स्वतन्त्र राष्ट्रको निम्ति जनताले पुनः विद्रोह गर्नुपर्ने अवस्था आएको बताए ।


केन्द्रीय सदस्य मदन थापाले देश सङ्क्रमणकालमा रहनुको जिम्मेवारी सत्तामा रहेका दलहरुले लिनुपर्ने भने ।
कार्यक्रममा महामन्त्री टङ्क ढकाल, सदस्य नन्दकिशोर घिमिरे, प्रकाश रिमाललगायतले भदौ १४ पछि संविधानसभाको म्याद थप्नु भन्दा नयाँ चुनावमा जानु शान्ति र संविधानको लागि उपयुकत कदम हुने दाबी गरे ।