माओवादीले आफ्नो पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बाबुराम भट्टराईको पक्षमा सहमति जुटाउन थप लचिलो हुने

काठमाडौं  – एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा सहमति जुटाउन अझै लचकताका साथ वार्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ।

 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले शान्ति प्रक्रियाका थाँती रहेका मुद्दामा अन्य दलसँग परामर्श गरी टुङ्ग्याएर राष्ट्रिय सहमतीय सरकारको नेतृत्वका लागि लचकता अपनाउने निर्णय गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी मोर्चा र अन्य साना दलसँगको छलफलबाट सहमति जुट्नेमा विश्‍वास बढेकाले सोहीअनुसार सहमतीय सरकारको नेतृत्वका लागि थप छलफल गर्ने पनि प्रवक्ता शर्माले बताए।


बैठकले शान्ति प्रक्रिया र संविधान लेखनका लागि पार्टी केन्द्रीय कमिटीले गरेको निर्णयलाई आधार मानेर अगाडि बढ्ने निर्णय पनि गरेको छ। सहमति जुटाउनका लागि गठित वार्ता कमिटीलाई लचकताकासाथ अन्य दलसँग वार्ता गरी सहमति जुटाउने जिम्मेवारी बैठकबाट दिइएको पनि प्रवक्ता शर्माले जानकारी दिए।


बैठकले राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएकाले त्यसका लागि पदाधिकारीलाई वार्ताको जिम्मेवारी दिएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अन्य दलसँग भएका वार्ताको प्रगतिका बारेमा जानकारी गराएको जनाइएको छ।


पार्टीका तर्फबाट उपाध्यक्ष डा. भट्टराईलाई सहमतीय सरकारको नेतृत्वका लागि अगाडि सारेको एनेकपा माओवादीले कांग्रेस, एमाले, मधेसी मोर्चा र संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग निरन्तर वार्ता गरिरहेको छ।
– रासस