काठमाडौं – दिगो शान्ति र स्थिरता नरहेको अवस्थामा राष्ट्रसंघले नेपाललाई निरन्तर ‘वाच-लिस्ट’ मा राख्दै अनुगमन गरिरहेको न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगका स्थायी प्रमुख ज्ञानचन्द्र आचार्यले बताएका छन् ।
राष्ट्रसंघीय महासचिव बान कि मुनका विशेष प्रतिनिधि टाम्राट स्यामुअलले तीन महिना अवधिमा गरिरहेको दोस्रो नेपाल भ्रमणको सन्दर्भबारे प्रमुख आचार्यले भने, ‘महासचिव बानले राखेको नेपाल सरोकारको स्वाभाविक चासो र चिन्ताको यथास्थिति पहिल्याउन भ्रमण निरन्तर भएको हुन सक्छ ।’ राष्ट्रसंघले शान्ति र स्थिरता नरहेका लिबिया, सिरिया र सुडानजस्ता मुलुकहरूबारे पनि निरन्तर बैठक र परामर्श जारी राखेको भन्दै उनले नेपालको स्थिति मूल्यांकनमा पनि राष्ट्रसंघीय तदारुकता उत्तिकै रहेको बताए ।
एक सातापछि राष्ट्रसंघीय सुरक्षा परिषद्मा प्रस्तुत हुने नेपालको राजनीतिक प्रतिवेदनबारे धारणा बनाउन विशेष प्रतिनिधि टाम्राटले शनिबारबाट भेटघाट सुरु गरेका छन् । शनिबार अपराह्न बालुवाटारमा कामचलाउ प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गर्दै सुस्त गतिमा रहेको नेपालको शान्ति प्रक्रियाबारे महासचिवको चासो र चिन्ता सुनाएका थिए । ‘नेपालको शान्ति प्रक्रिया र महासचिव बानले नेपाल भ्रमण गर्न चाहेको इच्छाबारे कुराकानी भएको थियो,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले कान्तिपुरसँग भने, ‘सरकार परिवर्तनका कारण शान्ति प्रक्रियामा बाधा पुग्ने हो कि भन्ने चिन्ता पनि महासचिवले राख्नुभएको रहेछ ।’ सेना समायोजनसहितका पक्षमा प्रधानमन्त्री खनालले राखेको प्रस्तावलाई महासचिव बानले सकारात्मक भन्दै यसमा सर्वपक्षीय सहमति जरुरी रहेको सन्देश टाम्राटले सुनाएका थिए ।
राष्ट्रसंघमा एसिया प्यासिफिक क्षेत्रीय राजनीतिक मामिला निर्देशक टाम्राटले सहमतीय सरकारका पक्षमा सबै राजनीतिक दलहरूका प्रयास केन्दि्रत रहनुपर्ने सुझाव दिएका थिए । ‘शान्ति प्रक्रिया निचोडमा पुर्याउन आवश्यक सहयोग गर्न राष्ट्रसंघ तत्पर रहनेछ,’ टाम्राटले भने । उनले आइतबार राजनीतिक दलसम्बद्ध नेताहरू, परराष्ट्रमन्त्री, सभामुखलगायत पदाधिकारीसँग भेटघाट गर्नेछन् ।
– कान्तिपुर