तोकिएको समयमा संविधान नबन्नुमा मुख्य दोष माओवादीको भएको आरोप राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको आरोप

– दिलीप पौडेल

 

बाग्लुङ  – तोकिएको समयमा संविधान नबन्नुमा मुख्य दोष माओवादीको भएको आरोप राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लगाएका छन्। बाग्लुङमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार केसीले माओवादी शान्ति प्रक्रियामा प्रति प्रतिबद्ध नहुँदा शान्ति र संविधानले गति लिन नसकेको बताए।

 

 ‘तोकिएको समयमा संविधान नबनेको मुख्य जिम्मेवारी माओवादीले लिनुपर्छ,’ केसीले भने,’ कांग्रेस र एमालेको पनि केही हिस्सा छ।’


१२ वुँदे सहमति अनुसार अगाडि बढ्नु पर्नेमा प्रमुख तीन दलले सत्ता केन्द्रित राजनीति गरेकोले मुलुक जटिलतामा फसेको उनको भनाई थियो। ‘सहमतीय सरकार गठन गर्नुपर्नेमा मुख्य तीन दलले बहुमतीय अभ्यासबाट अगाडि बढाए,’ केसीले भने,’ अहिले पनि सहमति सरकार बन्ने सम्भाबना निकै कम छ।’

संविधान समयमा नबन्नुमा ६ सय १ सभासदको जिम्मेवारी भए पनि प्रमुख तीन दलको कारण समस्या सृजना भएको उनको भनाई थियो। राष्ट्रपतिको निर्वाचनमा कम्युनिष्ट उमेद्‍वार भए पनि कांग्रेसका उमेद्‍वार रामबरण यादबलाई सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै बर्तमान कांग्रेसका उमेद्‍वार देउवाप्रति शंका गरे। ‘अहिले कांग्रेसका प्रस्तावित उम्मेद्‍वार शेर बहादुर देउवा अनुभवी नेता हुन्,’ केसीले भने,’ देउवाले बहुदल राजालाई लगेर बुझाएकोले तत्काल उनलाई समर्थन गरि हाल्ने अवस्था छैन।’


उनले दलहरुले संघीयतामा जाने निर्णय गरेपनि यो कच्चा निर्णय भएको बताएका छन्। ‘संघीयताले मुलुकलाई विखण्डन गर्नेछ,’ उनले भने।