फेरि नेपाली कांग्रेस भित्र बहुमतीय सरकारका लागि प्रधानमन्त्रीको उम्मेदवारका बिषयमा विवाद

काठमाडौ – फेरि नेपाली कांग्रेस भित्र बहुमतीय सरकारका लागि प्रधानमन्त्रीको उम्मेदवारका बिषयमा विवाद बढेको छ ।

सहमतीय सरकार निर्माणको सम्भावना क्षीण हुँदै गएको बेला बहुमतीयका लागि आफू उम्मेदवार भएको भन्दै संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेलले आफ्नो पक्षमा पार्टी भित्र र बाहिर लविङ सुरु गरेका छन् । अर्कोतिर सहमतीय सरकारका लागि घोषित उम्मेदवार शेरबहादुर देउवाले बहुमतीयका लागि पनि आफूनै उम्मेदवार हुनुपर्ने जिकिर गरेका छन् ।

देउवाले संसदीय दलमा पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि गत साता बसेको पदाधिकारी बैठकले देउवालाई सहमतीय र पौडेललाई बहुमतीय सरकारको लागि उम्मेदवार बनाउने सहमति गरेको थियो । केन्द्रीय समिति बैठकले सहमतीय सरकारका लागि देउवालाई सर्वसम्मत उम्मेदवार बनाएपनि बहुमतीयका लागि उम्मेदवार तोकेको थिएन ।

देउवाले आफ्ना पक्षधर सभासद र केन्द्रीय सदस्यहरुसंग सोमबार आफ्नै निवास बुढानिलकण्ठमा बैठक गरेका छन् । सहमतीय सरकार निर्माणका लागि थपिएको समयमा आफ्नो पक्षमा अधितम प्रयास नगर्ने त्यो नभए बहुमतीयका लागि पार्टीको तर्फबाट देउवा नै उम्मेदवार हुने उक्त पक्षको निष्कर्ष छ । देउवालाई बहुमतीयमा पनि उम्मेदवार बनाउन पार्टी सभापति सुशील कोइरालालाई दवाब दिने उक्त पक्षले निर्णय गरेको छ । देउवा पक्षीय सभासद एन पी साउदले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा भइसकेकाले त्यस विषयलाई सहमतीय वा बहुमतीय भनेर व्याख्या गर्न नहुने बताए ।

यता, बहुमतीयमा आफू उम्मेदवार हुने भन्दै पौडेलले आफूलाई सहयोग गर्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेर आग्रह गरेका छन् ।