राष्ट्रपति रामबरण यादवले बहुमतीय सरकार बनाउने प्रक्रिया शुरु गर्न संसदलाई पत्राचार गरेका छन्।
पहिले सात दिन र पछि तीन दिन गरी राष्ट्रपतिले दिएको समयमा दलहरु सहमतीय सरकार बनाउन विफल भएका थिए।
बुधबार साँझ पाँचबजे सहमतीय सरकार बनाउने म्याद समाप्त भएपछि नेपाल बहुमतीय सरकार बनाउने प्रक्रियामा प्रवेश गरेको छ।
बहुमतीय सरकारका लागि माओवादीले सहमतीयकै उम्मेदवार बाबुराम भट्टराईलाई निरन्तर राखेको छ भने नेपाली कांग्रेसले शेरबहादुर देउवा नभै रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ।
प्रधानमन्त्रीको चुनावमा तटस्थ बस्न र बहिस्कार गर्न समेत नपाइने व्यवस्था गरिएकाले तत्काल परिणाम आउने अपेक्षा राखिएको छ।
सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको पहिलो सात दिन दलहरुले एकापसमा छलफलमा विताए पनि थपिएको तीन दिन भने बहुमतीय भएको खण्डमा अपनाउनुपर्ने रणनीतिमै विताएका थिए।
सहमतीय सरकार गठनको कसरतका बेला संविधानसभाका अधिकांश दलले माओवादी नेतृत्व स्वीकार्न उसँग शान्ति प्रक्रियामाथि आश्वस्त हुने खाका खोजेका थिए।
तर बहुमतीय प्रक्रिया शुरु भएपछि मात्रै माओवादीले त्यस्तो खाका जारी गर्ने भएको छ।



