काठमाडौं – सभामुख सुवासचन्द्र नेम्वाङले बिहीबार संविधानसभा भङ्ग गरी ताजा जनादेश माग गर्दै बिहीबार संसदभित्र नाराबाजीमा उत्रिएका राप्रपा नेपालका चार सभासद्लाई एक दिनका लागि निलम्बन गरेका छन् ।
नेम्वाङको आदेशमा उनीहरुलाई मार्सल लगाएर संसद् बैठकबाट बाहिर निकालिएको हो । सभामुख नेम्वाङले संसद् अवरोध नगर्न आग्रह गर्दा पनि नमानेपछि उनीहरुलाई निलम्बन गरिएको हो ।
संसद् जारी रहेकाबेला संसदीय दलका नेता चन्द्रबहादुर गुरुङसहित चार सभासद् रामनारायण सिंह, बबिता मोक्तान र कुन्ती शाही रोष्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । उनीहरुले संविधानसभाको म्याद ३ महिना थप्न सरकारले गरेको प्रस्तावको विरोध गरेका थिए ।
सरकारले संविधानसभाको म्याद ३ महिना थप्न व्यवस्थापिका संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव मंगलबार दर्ता गराएको छ । संविधान निर्माण नसकिएपछि तेस्रोपटक संविधानसभाको म्याद बढाउन लागिएको हो । दोस्रोपटक थपिएको म्याद भदौ १४ गते सकिंदैछ ।



